निगमको जहाज आज पनि दिल्ली उड्न पाएन

काठमाडौं। हिजो आइतबार काठमाडौंबाट भारतको नयाँ दिल्ली जान ठिक्क परेको नेपाल एअरलाइन्सको वाइडबडी जहाजलाई रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार अर्को जहाजको उडान पनि रोकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिका अनुसार नेपाल एअरलाइन्सको तालिका नै नभएको भन्दै विमानस्थलले विहान ८ बजे नयाँ दिल्लीको लागि तय भएको उडान रद्द गरिदिएको हो । सोमबार विहान काठमाडौं- दिल्ली उडानको लागि निगमले १ सय ५० वटा टिकट विक्री गरेको थियो । “हिजो जस्तै गरी आज पनि हाम्रो विहानको उडान रोकिएको छ । हामीले हिजो नै यात्रुलाई जानकारी गराएकाले विमानस्थलमा पुगेर उहाँहरुले दुख पाउनुपरेको छैन ।” निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्’

हिजो आइतबार पनि बोर्डिङ पास भइसकेपछि निगमको जहाजलाई रोकिएको थियो । आइतबारका २ सय ५४ जना यात्रु दिल्ली जान पाएका छैनन भने आज सोमबार विहानका थप १ सय ५० यात्रुले पनि टिकट काटेर बसेकाले उनिहरुलाई कसरी पठाउने भन्ने विषय निकै जटिल भएको खड्काको भनाई छ । निगमको दिउँसोको उडान र अरु एअरलाइन्समा पनि केहि यात्रु पठाउने तयारी भएको छ । तर यात्रु धेरै र जहाज कम हुँदा समस्या बढेको निगमले जनाएको छ ।

“केहि यात्रुलाई हामिले दिउँसोको हाम्रै उडानमा पठाउँदैछौँ, केहि यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्समा पनि म्यानेज गर्ने कोसिस गर्छौँ । तर हामीसँग दिल्ली जान रोकिएका यात्रु नै ३ सय २५ जना भएकाले सबैलाई पठाउन समस्या छ ।” प्रवक्ता खड्काले भनिन् ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बिजनेश दिन भन्दै निगमलाई हप्ताको कम्तिमा ४ वटा उडान भैरहवाबाट गर्नेगरी तालिका बनाएको छ । तर निगमले काठमाडौंबाटै नयाँ दिल्लीमा हप्ताका १४ वटै उडान गर्ने जिद्दि गरेका समस्या भएको छ ।नेपाल भ्युज


तपाईको प्रतिक्रिया