बाँके – शान्ति सुरक्षाको अवस्थालाई मध्येनजर गरेर बाँकेमा प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै देउसीभैलोको समय निर्धारण गरेको छ । बाँकेमा राति १० बजेसम्म मात्र देउँसी भैलो खेल्ने समय निधारुण गरिएको प्रहरीले जनाएको छ ।
दुई दिनअघि मात्र पेस्तोलबाट हवाई फायर गर्दै केही युवाले बजारमा आतंक सिर्जना गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले निर्वाचन र चाडपर्व सँगसंगै परेकाले प्रहरीले शान्ति सुरक्षालाई विशेष महत्व दिएको बताउनुभयो । राति १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिनुका साथै पटाका पडकाउन समेत रोक लगाइएको उहाँले बताउनुभयो । जुवातासमा पनि कडा निगरानी बढाइएको उहाँको भनाइ छ ।
केही युवाले खुला रुपमा हतियार देखाएर सुरक्षामा खलल पार्ने काम गरेकाले उनिहरुविरुद्ध कारवाही प्रक्रिया शुरु भैसकेको उहाँले बताउनुभयो । जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी व्यवस्था मिलाइएको उहाँको भनाइ छ । चाडपर्व र निर्वाचन प्रचार प्रसारको क्रममा सम्भावित अपराध तथा दुर्घटना रोक्न देउसीभैलोको समयसीमा तोकिएको र अन्य गैरकानुनी काममा पनि कडाई गरिएको उहाँले बताउनुभयो । तिहारको समय दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगलागीजस्ता घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ समेत सचेत रहन जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक सुचना निकालेर अनुरोध गरेको छ ।गोरखापत्र


दर्शन खबर । ८ कार्तिक २०७९, मंगलवार