
कुलेन्द्र शाही सुर्खेत । गत शुक्रबार वन तथा वातावरण मन्त्रालयले प्लाष्टिकका फूल तथा माला बिक्री वितरण नगर्न सूचना जारी गरेको भएपनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा प्लाष्टिकका मालाहरु खुलेआम बिक्री वितरण भईरहेका छन् । नेपाल सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण नगर्न आग्रह गरेको थियोे ।
तर वीरेन्द्रनगरमा भने व्यापारीहरुले प्लाष्टिकका मालाहरु निर्धक्ककसंग बेचिरहेका छन् । दर्शन खबरकर्मी सोमवार वीरेन्द्रचोकमा पुग्दा प्रायजसो पसलहरुमा व्यापारीहरुले तिहार र छठलाई लक्षित गरेर प्लाष्टिकका बेचिरहेका थिए । गाउँघरमा पाइने तिहारे फूलका साथै मखमली फुलको सट्टा कृतिम झिलीमिली मालामा दिदीबहिनीहरु बढी केन्द्रित हुन थालेको तथा कृतिम माला हेर्दा राम्रो प्राकृतिक माला जस्तो छिट्टै नझर्ने, नओइलाउने र नसुक्ने भएको हुँदा गाँउघरे फूलको मालाको प्रयोग कम हुन थालेको व्यापारीहरु बताउछन् ।

कतिपय व्यापारीहरू प्लास्टिकको फूल, माला तथा अन्य सामाग्री बिक्री तथा वितरणमा सरकारले प्रतिबन्ध लगाएको जानकारी नभएको बताउछन् । तिहारमा दाजुभाईले लगाउने भनेको फुलको माला हो । तर, पछिल्लो समय तिहार पर्व आधुनिकता बन्न थालेको छ । तिहारमा लगाइने फूलहरु मखमली, सयपत्री तथा अन्य तिहारे फूल गाउँघरमा समेत हराउदै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार हुँदै गाउँका बजारमा समेत भारत तथा बाहिरी देशबाट आयात भएका कृत्रिम फूलको मालाले अहिले प्रायः पसलहरु रंगीचंगी देखिन थालेका छन ।

नेपाल सरकारले सुचनामा जारी गरेको कानुन विपरीत कुनै कार्य गरेको पाईएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैँया सम्म जरिवाना तथा सोही ऐनको दफा ४१ को उपदफा (२) बमाजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने उल्लेख गरेको भएपनि त्यो सुचनामा मात्रै प्रतिबन्ध भएको छ ।








दर्शन खबर । ७ कार्तिक २०७९, सोमबार