काठमाडौं – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचारप्रसारका क्रममा हेलिकप्टर प्रयोग गरेको खर्च सरकारी कोषबाट निकासा गरेको विषयमा प्रधानमन्त्रीलाई आयोगले स्पष्टीकरण सोधेको हो।
आयोगका सहप्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री लगायत मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरी विभिन्न स्थानमा गई निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित गतिविधि गरेकोले सरकारी कोषबाट रकम व्यहोर्ने गरी के कुन प्रयोजनको लागि हेलिकप्टर सेवा प्रयोग भएको छ भन्ने विषयमा आयोगलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो।
आयोगले असोज १२ पछि सरकारका मन्त्री वा अन्य पदाधिकारीबाट हेलिकप्टर सेवा प्रयोग गर्दा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ, पर्दैन स्पष्ट गरी लेखी पठाउन निर्देशन दिएको छ।
‘हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमा भित्र पर्ने हो सो खुलाई पठाउन त्यसरी हेलिकप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दलहरूलाई लेखी पठाउने,’ विज्ञप्तिमा भनिएको छ।
साथै आयोगले निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारी साधन स्रोत (हेलिकप्टर तथा अन्य साधन समेत) प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने निर्वाचन प्रचार प्रसारका सन्दर्भमा हेलिकप्टर लगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने निर्णय गरेको छ।
थाहाखबर बाट


दर्शन खबर । ७ कार्तिक २०७९, सोमबार