
पोखरा । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको आज अपराह्न उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबारनै पोखरा पुगिसकेका छन् भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा पुगिसकेका छन् । ६ हजार एक सय ५७ खेलाडीले प्रतियोगितामा सहभागीता जनाउने छन् ।
प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् । नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलन लगायत तयारी गरिएको छ ।


दर्शन खबर । २८ आश्विन २०७९, शुक्रबार