लेकवेशीका प्रमुख प्रशासकिय शाहीलाई हाजिरी गराउन सामान्यको निर्देशन

सुर्खेत । लेकवेशीका नयाँ प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीलाई कार्यालयमा हाजिरी गराउन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले असोज २६ गते नगरपालिकालाई एक पत्र लेख्दै शाहीलाई हाजिरी गराउन र शाही मार्फतनै आर्थिक कार्य गराउन कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतलाई निर्देशन दिएको हो ।
२०७९ भदौ ५ गते भएको निर्णय अनुसार लेकवेशी नगरपालिको प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाईएका महेन्द्र जंग शाहीलाई हाजिर नगराएको भनी निवेदन परेको र नियमानुसार खटाईएको प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर नगराउने कार्य संविधानको मर्म र प्रचलित कानुनको विपरित भएको मन्त्रालयका शाखा अधिकृत विवेक भण्डारी द्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।मन्त्रालयबाट खटाईएका प्रमुख प्रशासकिय अधिकृत शाहीको हाजिरी नभए सम्म आर्थिक कार्य नगराउन कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतलाई जानकारी समेत मन्त्रालयले गराएको छ ।
नगर प्रमुख उमेश कुमार पौडेलले विभिन्न कारण देखाएर नयाँ हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर हुनबाट रोकेको जनाईएको थियो । प्रमुख प्रशासकिय अधिकृत कृष्ण खरेल साउनमा सरुवा भएर गएयता शिक्षा शाखा प्रमुख पहलमान अधिकारीलाई प्रमुख प्रशासकिय अधिकृत नआउने बेलासम्मका लागि निमित्त प्रमुख प्रशासकिय अधिकृतको मन्त्रालयले जिम्मेवारी दिएको थियो ।

 

तपाईको प्रतिक्रिया