डुबान प्रभावीत क्षेत्रमा प्रहरी सहित प्रशासन पुग्यो


सुर्खेत । असोज १८ गते राती देखी परेको अविरल वर्षका कारण डुबानमा परेको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्रमा प्रशासन लगायतको टोली पुगेको छ । वर्षाले जलमग्न गरेको वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल सहित प्रहरीको टोली उक्त स्थानमा पुगेको हो ।
साथै उक्त क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीको टोली परिचालन भईरहेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनी लगायतका क्षेत्रहरु डुबानमा परेका छन् ।

यस्तै, उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारीको टोली सहित सुर्खेत उद्योग वाणिज्य संघको टिम पनि पुगेको छ । वाणिज्य संघका सदस्य विशाल ढकालले पर्सेनीमा दुई वटा घर डुबानमा परेका जानकारी दिए । उनका अनुसार उक्त घरका सबै परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ । भने पाक्नै लागेको सबै धान भने बाढीले नष्ट बनाएको ढकालले बताए ।
साथै सुर्खेत प्रशासन, सुर्खेत उद्योग वाणिज्य संघ, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी लगायतको टोली डुबान क्षेत्रमा पुगेर उद्धारका लागि खटिएको छ । हाल मानवीय क्षति कुनै पनि नभएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया