उत्पादन, पोषण र वातावरणमा सुधारः सुखी जिवनको आधार

 

नारायण पौडेल । मानव समाजको आधुनिक सभ्यताको जग प्राचिन कृषि प्रणाली हो भन्नमा कुनै शंका गर्नुपदैन । समाजको उत्पत्तीको सन्र्दभलाई जोेड्दा विभिन्न आवश्यकता पुरा गदै जाने क्रममा सामाजिक व्यवस्थामा मानिस बाँधियो र यसको संगसँगै कृषि पेशालाई आत्मसाथ गरी कृषियोग्य भूमिमा बसोवास गदै आएको पाइन्छ । जुन पेशा अहिलेसम्म मानिसले चाहेर पनि छोड्न नसक्ने अभिन्न अंगको रुपमा रहेको छ भने अर्काैतिर सकेसम्म कृषि पेशालाई अंगाल्न हुदैन भन्ने दरिद्र सोच भएका युवाहरुको जमात पनि कम छैन । मानिसको आधारभूत आवश्यकता पुरा गर्ने एउटा सशक्त पाटो कृषिलाई सबैभन्दा उच्च स्थान दिनुपर्छ भन्ने मान्यताको विकास गर्न सकिएन भने भोलि भोकमरीको संकटले कसैलाई नछोड्ने निश्चित छ । यस कारण आजै बाट सबैले आ–आफ्नो स्थानबाट यसको लागि सक्दो पहल र कदम चाल्नु आवश्यक देखिन्छ ।

हामीले थरीथरीका लगाए जस्तै नाना
सबैको भान्छामा पाक्नुपर्छ सन्तुलित खाना ।।

प्राचिन सभ्यताको विकास क्रमलाई हेर्दा पूर्वीय र पश्चिमी समाजको जगबाट अहिलेको चमत्करिक संसारको उदय भएको पाइन्छ । प्राचिन समयमा मुख्य पेशा कृषि थियो । कुषिबाट नै विभिन्न युगहरु पार गदै मानिस आज वैज्ञानिक युगमा रमाइरहेको छ तर कृषि पेशालाई छोड्न सक्ने अवस्था छैन । किनभने कृषिविना सबै प्रकारका सुख सुविधा र समृद्धि असम्भव छ । त्यसैले यस पेशालाई आकर्षकको केन्द्रबिन्दु बनाउन आवश्यक देखिन्छ । नेपालभन्दा धेरै पछि अस्तित्वमा आएका राष्ट्रहरुले कृषिको क्षेत्रमा अप्रत्यासित फड्को मारे तर हाम्रो देशले सोचेअनुसारको प्रगति र सफलताको साटो कृषिबाट सकेसम्म भाग्ने प्रतिप्रष्धा हुने गरेको पाइन्छ । कुनै समयमा आफ्नो देशलाई मनग्ये पुगेर अन्य देशमा समेत निर्यातमुखि हाम्रो कृषि उत्पादन अहिले आएर परनिर्भर बन्नु परेको छ ।
अहिलेको पछिल्लो तथ्याङ्कलाई अध्ययन गर्दा ६० प्रतिशत जनता कृषि पेशामा आवद्ध हुँदा पनि परनिर्भर रहनुपर्ने अवस्था किन छ भन्ने विषयमा समयमै राज्यले खोज र अनुसन्धान गर्नु आवश्यक छ । यदि बेलैमा सोच पु¥याउन सकिएन भने यसले झन भयावह स्थिती पैदा गर्ने कुरामा कुनै शंका छैन । परम्परागत खेती प्रणाली र निर्वाहमुखी कृषि व्यवसायलाई समयानुकुल परिवर्तन गरी प्रविधीयुक्त बनाउन आवश्यक देखिन्छ । प्राकृतिक सम्पदाले सम्पन्न हाम्रो देशका प्रत्येक ठाँउमा कुनै न कुनै प्रकारको कृषि कार्य संचालन गर्न सकिने सम्भावना छ स प्राकृतिक अवस्था अनुसारको कृषि व्यवस्था अंगाल्न सकियो भने हाम्रो देशको जिडिपीमा सुधार हुन सक्छ । यसका लागि हलो जोत्ने र पशु नै पाल्नु पर्छ भन्ने मान्यताबाट माथि उठि माटो र पानी सुहाँउदो कृषि प्रणाली भित्रको कुनै एउटा पेशा अंगाल्न आवश्यक देखिन्छ । यसका लागि स्वयम् राज्य पनि जिम्मेवार हुनुपर्दछ । विकसित देशहरुमा कुल जनसंख्याको २ देखी ३ प्रतिशत मानिसहरुले मात्र कृषि पेशा अपनाउदछन् र पनि खाद्यान बाहिर निर्यात गर्दछन् । यसबाट हामीले किन सिक्न सकेनौ वा चाहेनौ यो विचारणीय प्रश्न छ । कृषि कर्म जुन मानव जातिका लागि मात्र नभइ सम्पूर्ण प्राणीका लागि समेत जिवनको आधार हो , त्यसैले हामीले कृषकलाई सधै देवता सरह पुज्य स्थानमा राख्नुपर्दछ । अध्ययन र अनुसन्धान विनाको नीति, योजना विनाको लगानी, आवश्यकता विनाको अनुदान, बजार विनाको उत्पादन जस्ता कारणले समयानुकुल कृषिमा प्रगति गर्न सकिएन ।
वास्तवमा सुख, शान्ति, समृद्धि सबै व्यक्तिको मानसपटलमा आइरहने कुरा हो । यसको प्राप्ति त्यति सजिलो नभएकै कारण यी विषयवस्तुहरु उठान भइरहन्छन् । हामीले अनुभूति गर्न सकिने सुख र समृद्धिका लागि हामी आफै कर्ममा होमिनुपर्दछ । जसबाट हामी व्यक्ति, परिवार र समाज हुदै राज्यले सुख र समृद्धि प्राप्त गर्न सक्छ । कृषि क्षेत्र भित्रका जुनसुकै पेशा अपनाउँदा पनि त्यसबाट सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने थुप्रै प्रमाणहरु यसैं पेशामा लागेका व्यक्तिहरुको जिवनशैलीबाट थाहा पाउन सकिन्छ । सन्तृष्टि त्यहाँ त्यतिबेला मिल्छ जतिबेला उपभोक्ताले व्यक्तिको कर्मको प्रशंसा गर्दछन् साथै उत्पदानमा आफ्नो कामबाट आफै सन्तुष्ट हुन सक्ने कृषि पेशालाई सबैको रोजाइको पेशा बनाउन लागि पर्नुपर्ने देखिन्छ । हाम्रो देशमा कुखुरा पालन, बङ्गुर पालन , बाख्रा पालन, तरकारी खेती, फलफूल खेती आदिलाई सफल कृषि व्यवसायको रुपमा उदाएको पाइन्छ । अहिले हाम्रो देशमा केही भागमा बाहेक अधिकांश क्षेत्रमा भइरहेको निर्वाहमुखी कृषि प्रणालीलाई छिटोभन्दा छिटो परिवर्तन गर्नु पर्ने देखिन्छ । निर्वाहमुखी खेती प्रणाली भएकै कारण अपेक्षित रुपमा गरीवीको संख्या घट्न सकेको छैन । खास समयमा बाहेक वर्षमा अधिकांश समयमा बेरोजगारी हुनुपर्ने बाध्यताले गरीवी घट्ने भन्दा बढ्ने गरेको पाइन्छ । क्षमत र जमिनको अवस्थालाई अध्ययन गरी त्यसै अनुसारको कृषि पेशा अपनाउदा उत्पादनमा वृद्धि भइ सुख प्राप्तिको एउटा खुड्किलो चढ्न सहयोग पु¥याउदछ । यसका लागि राज्य संयन्त्रको विशेष भुमिका हुनुपर्ने देखिन्छ ।
अन्य पेशामा भन्दा कृषि पेशामा अलि बढि जोखिम वहन गर्नुपर्ने देखिन्छ । किनभने धेरै लगानी र प्रक्रिया पछि मात्र प्रतिफल प्राप्त हुन्छ । कृषकलाई ढुक्ककासाथ लागनी गर्ने वातावरण भएमा उसले आत्मविश्वासका साथ काम गर्छ , उत्पादन राम्रो हुन्छ , गुणस्तरीय खाद्य वस्तु वितरण हुन्छ यसले गर्दा सम्बन्धित सबै पक्ष खुसी हुने वातावरण बन्दछ । यो अर्काे जिवनको सुखको आधार बन्न सक्छ ।
विगतलाई फर्केर हेर्दा कृषिलाई तहसनहस हुने गरी उद्योग नीजिकरण गराएर ठुलो भुल गरियो, आर्थिक क्षति भयो, विकासमा पछि धकलियौ । अब समयमै विकेन्दी्रहरण अनुसार उद्योग स्थापनामा जोड दिनुपर्छ । अत्याधिक मात्रामा कृषि उपजहरु प्रयोग हुने उद्योग धन्दाको विकासले कृषि प्रतिको आकर्षण बढ्छ, उद्योग र कृषि दुवै क्षेत्रको रोजगरीको अवसर वृद्धि हुन्छ, गरीवी घट्छ, उत्पादनले राम्रो बजार पाउछ, कृषक उत्साहित हुन्छन् यसैबेला उसले महशुस गर्छ कि वास्तवमै घरभित्रै संसार छ स्वर्ग छ त्यहाँ भन्दा सन्तुष्टि के हुन सक्छ । अब राज्यले बुझोस विगतमा कृषि र वातारणको बीचमा नङ र मासुको जस्तो सम्बन्ध रहेको हुन्छ । वातावरणीय पक्षले उत्पादनमा प्रभाव पार्दछ भने अर्काेतिर कृषि गतिविधीहरु वातावरण अनुकूल बनाउन आवश्यक देखिन्छ । बढ्दो औद्योगिकीकरणले वातावरणका प्राकृतिक गुणहरु नष्ट हुन गइ उत्पादनका साथै अन्य घटकहरुमा समेत प्रतिकुल प्रभाव पारेको छ । यसका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जल्दोबल्दो विषयका रुपमा बुझ्न आवश्यक देखिन्छ । खासगरी कृषिसँग सम्बन्धित गतिविधीहरु व्यापक रुपमा संचालन गर्ने नीति अवलम्वन गर्न सकियो भने यसले वातावरण संरक्षण गर्नतर्फ सबैको ध्यान आकर्षित गर्न सकिन्छ । पशुपालनलाई बढवा दिन सकियो भने यसले गरीवी न्यूनीकरणमा सहयोग गर्दछ , स्वरोजगार सिर्जना हुन्छ, उत्पादनमा वृद्धि र आर्थिक प्रगति हुन गइ गुणस्तरीय जिवन निर्माणमा सहयोग पु¥याउदछ । दिगो विकासको मान्यता अनुरुप व्यक्तिका क्रियाकलापहरुलाई संचालन गर्न सकियो भने नियमित व्यस्तता र मितव्ययीता बढ्न गइ नाङ्गा भिर पाखालाई हरियालीमय बनाउन सकिन्छ भने वातावरया सफा र स्वच्छ बन्दै जान्छ । हरेक व्यक्तिको क्रियाकलापलाई वातावरणमैत्री बनाउनका लागि अन्तराष्ट्रिय स्तरमा सन् १९७१ देखि क्रमश विभिन्न नामले अन्तराष्ट्रिय सम्मलेनहरु सम्पन्न हुदै आएको पाइन्छ भने नेपालमा छैठौ योजना देखि भु–उपयोग सम्बन्धि अवधारणा थालनी भइ विभिन्न नीति नियम योजना बनाउदै कार्यक्रम संचालन गरिदै आएको पाइन्छ । हरेक व्यक्तिको पाइला पाइलाको प्रयासबाट मात्र वातावरणको संरक्षण र सम्र्वधन गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि बढ्नुपर्ने देखिन्छ । अहिले विश्व जगतले उप्पादनको क्षेत्रमा निकै फड्को मारेको पाइन्छ । यसलाई विज्ञान प्रविधीको एउटा उपज भन्न सकिन्छ । जुन संसारको धेरै देशहरुमा परिक्षण एवम् प्रयोग हुदै आएको पाइन्छ । विश्वव्यापी तापक्रम वृद्धि र यसको चौतर्फी प्रभावलाई कम गर्नका लागि अव जैविक खेती प्रणालीमा जोड दिनु आवश्क छ । हाम्रो देशमा उत्पादनका दृष्टिले विभिन्न कठिनाई कृषकहरु भोग्दै गएको पाइन्छ । अधिकांश स्थानीय तहमा कमजोर आर्थिक अवस्था भएको परिवारहरु कृषिमा आवद्ध हुदाँ आश गरे जति उत्पादकत्वमा वृद्धि हुन सकेको पाइदैन ।
राज्यले कृषिमा लागनी गर्नु पूर्व कृषकहरुको बीचमा रहेर विभिन्न कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ । खासगरी स्थानीय तहको भु–बनोट, हावापानी, कृषकको आवश्यकता, स्रोत साधनके उपलव्धता, सिप र क्षमताको पहिचान, प्रयोगात्मक अभ्यास, तालिम, प्रविधीको प्रयोग तथा उपलव्धता, बजारीकरण, ढुवानी, भण्डारण जस्ता पक्षको यथार्थ पहिचान गरी कृषि कर्मको जिम्मेवारी दिन सकेमा दिगो कृषि उत्पादनले निरन्तरता पाउने देखिन्छ ताकि यसले अतिथी गएझै खेतबारीमा जाने प्रवृत्तिको अन्त्य गर्न सकोस् । भुमिहीन तथा व्यावसायिक रुपमा कृषि पेशा अंगाल्न सक्ने समुदायको पहिचान गरी खेतीयोग्य तर बाझो रहेका जमीनलाई लामो समयसम्म उत्पादन दिइरहने प्रकारमा खेती बालीमा समावेश गराउने पहल गर्नुपर्दछ । राज्यले जुन उदेश्यका लागि ऋण लगानी गर्दछ त्यसै अनुसारको पेशा छ वा छैन भन्ने निरन्तर अनुगमनले कृषकलाई जिम्मेवार बनाउछ भने अर्काेतिर सहज ऋण लगानीले पछाडि परेको वर्ग र समुदायलाई समेत कृषि पेशा प्रति सजिलै आर्कषित गर्न सकिन्छ । अहिले राज्यले कृषिमा व्यवसायीकरण भन्ने नीति अनुरुप विभिन्न कार्यहरु संचालन गरेको पाइन्छ । कतिपय अवस्था अध्ययन गर्दा हचुवा र पहुचको भरमा घोषणा गरेको जस्तो पाइन्छ । व्यवसायीकरण हुनका लागि आवश्क पूर्वाधार छ वा छैन भन्ने कुराको स्पष्ट आधार बनाउन आवश्यक छ । अहिले थुप्रै कृषकका घरमा जोत्ने होत ट्रयाक्टर केही अनुदानमा वितरण गरिएको छ । खासमा यसको प्रयोग भन्दा पनि देखाउने भाडोको रुपमा मात्र देखिन्छ किनकी साधन दिइयो तर त्यसको मर्मत गर्ने प्राविधिकको अभावले कामवीहीन अवस्थामा फालेको पाइन्छ । यस्तो उधारो लगानीले कृषिमा कहिले छलाङ मार्न सकिएला यो सोचनीय विषय हुनुपर्दछ । खासगरी सारेकारवाला तह र निकायको बढ्दो सहरीकरणले फोहोर फाल्ने डम्पिङ साइट र खण्डिकरण बनेको खेतीयोग्य जमीन कसरी बचाइराख्ने अर्काे चुनौती थपिदै गएको छ यसबाट भविष्यमा झन ठुलो संकट आउने देखिन्छ । यसका लागि समयमै कस्तो ठाँउमा सहर बसाल्ने स्पष्ट नीति र योजना राज्यले बनाउनु आवश्यक देखिन्छ ।
कृषकले उप्पादन गरेको खाद्यपदार्थ सिधै वा विचौलियाको माध्यम हुदै हाम्रो भान्छा सम्म आइपुग्छ । त्यसरी प्राप्त भएको खाद्य पदार्थ खानाका लागि कति ठिक कति बेठिक भनेर जाँच गर्ने कुनै संयन्त्र उपभोक्ता सँग छैन । यसको निश्चित मापदण्ड हुनु आवश्यक देखिन्छ । कतिपय स्थानमा बारीमा तरकारी वा खाद्यवस्तु कुहिने तर उपभोक्ताले १० औँ दिनदेखि पानी छम्केर राखेका वस्तु खान बाध्य छ । हामी अनुमान गरौ त्यस्तो खाद्य वस्तुमा कति पोष्टिक तत्व होला यसको खोजीनीति कसले गरिदिने त्यसकारण बजारीकरणको मनपरी तन्त्र रोक्नु राज्यको प्रमुख दायित्व जस्तो लाग्दछ । खाना हरेक व्यक्तिको लागि अपरिहार्य तत्व हो । किनकी यसको अभावमा हामी जिवनको कल्पना पनि गर्न सक्दैनौ । हामी नियमित खाना खान्छौ तर के खाने, कसरी खाने, कस्तो खाना खाने भन्ने विषयमा हामी त्यति सचेत छैनौ त्यसकारण खानाकै फल स्वरुप हामी अस्वस्थ पनि भइरहेका छौ । प्राय अधिकांश मानिसको सोच हुन्छ कि खाना मिठो र स्वादिलो होस् त्यो मिठास र स्वादमा पोष्टिक तत्व छ वा छैन भन्ने अनुमान अधिकांश परिवारले गर्दैन । बिहान साझ के खाने भन्ने अवस्थाबाट गुर्जिएको परिवारलाई त पेट भर्न पाए पुग्छ । उसलाई पौष्टिक तत्वको बारेमा सोच्ने फुर्सद समेत हुदैन । नियमित पौष्टिक तत्वयुक्त खाद्यपदार्थले मात्र हाम्रो शरीरको स्वास्थ अवस्थालाई सक्षम र सबल गराउन सकिन्छ भन्ने चेतनाको विकास गराउनु पहिलो कर्तव्य हो । यसका लागि विभिन्न माध्यमको प्रयोग गर्नु आवश्यक देखिन्छ । यसैगरी पोषिलो खानाको रुपमा नियमित हरिया सागपात, दुधदही जस्ता पदार्थ प्रयोग गर्नु स्वास्थ्यका दृष्टिले उ्रत्तम मानिन्छ । यी पदार्थ हाम्रो शरीरको लागि अमृत सरह हुन् । जुन सानो मेहनत र प्रयासले आफै उत्पादन गर्न सकिन्छ भन्ने सोचको विकास गराउनु आवश्यक देखिन्छ । त्यसैगरी माछा मासु, तयारी खानाको अत्याधिक प्रयोगले नसर्ने रोगहरु उत्पन्न गरी अल्पकालिन दुर्घटना निम्त्याएको पाइन्छ । पौष्टिक तत्वको अभावले हजारै बालबालिका कुपोषणको सिकार बनिरहेका छन् । प्राय नेपालीहरुको नियमित भान्छामा मौसम अनुसारको खाद्य पदार्थ मात्र पाकिरहेको हुन्छ । यसका अर्थ सन्तुलित भोजनको अभाव र कुनै एक मात्र पौष्टिक तत्व युक्त खाना लामो समयसम्म खानुपर्ने बाध्यता भएको पाइन्छ । एउटा समुदाय भित्र वाली विविधीकरण अनुसार फरक फरक किसिमका खाद्य वस्तु उत्पादनमा जोड दिन सकियो भने आवश्यकता अनुसारको खाद्यपदार्थको सहज उपलव्धता र सबैको पहुच हुन सक्दछ । औषधिय गुण भएका प्राकृतिक खाद्यवस्तुको सहज उपलव्धता हुदा समेत हामीले वेवास्ता गरी बजारको खाद्यवस्तु तर्फ आर्कषित भएको पाइन्छ किनकी यसका लागि आवश्यक चेतनाको अभाव छ भन्न सकिन्छ । हिमाली क्षेत्रमा उत्पादन हुने खाद्यवस्तुहरु अन्य क्षेत्रमा सहज तरिकाले उपलव्ध हुन सक्दैन भने कतिपय सर्वसाधरणको पहुँचमा समेत ती वस्तुहरु हुदैनन् । यसका लागि उचित खाद्यवस्तु भण्डारणको व्यवस्था हुनु आवश्यक देखिन्छ । कृषि पेशालाई दिर्घकालसम्म टिकाइ राख्नका लागि सहज कृषि सामगी्रको उपलव्धता पहुँच हुनु जरुरी देखिन्छ यसका साथै प्रतिकुल मौसमका बाबजुद पनि खेतीलाई सहज रुपले व्यवस्थापन गर्न सकिन्छ भन्ने आत्मविश्वास गराउन कृषकलाई सबै पक्षबाट सक्दो सहयोग गर्नुपर्दछ ।

मेरो परिवारको लागि म आफै उत्पादन गर्छु भन्ने भावना जागृत गर्नु आवश्यक देखिन्छ । कृषि पेशा अशिक्षित र नपढेका व्यक्तिले गर्ने पेशा हो भन्ने संर्किण सोचलाई चिर्नु आवश्यक छ । राज्यले एक घर एक टनेलको नीति अवलम्वन गरी प्रत्येक परिवारलाई स्वच्छ तरकारी उत्पादनमा क्रियाशील गराउन सकिन्छ । यसबाट तरकारीमा हुने करोडौको निर्यातलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ । सहरीकणको बढ्दो आर्कषणले गाउँबाट सहरतिर बसाई सर्नेको संख्या दिनानुदिन बढ्दै छ । यसलाई मध्यनजर गदै गाउँमै स्थापित गराउन आवश्यक सेवा र सुविधा विस्तार गरी कृषिसँग सम्वन्धित सामाग्रीहरु सहज रुपमा उपलव्ध हुने वातावरण सिर्जना गर्नुपर्दछ । व्यक्तिको क ख ग घ ( कमाउने, खर्च गर्ने, गहना गराउने, घर बनाउने ) मान्यताबाट माथि उठाई कलर (कमाउने, लगानी गर्ने, रमाउने) को अवधारणा ल्याउन सके कृषि प्रणालीलाई अझ माथि उठाउन सकिन्छ । नेपालमा विभिन्न पेशा व्यवसाय अपनाएको पाइन्छ । यी मध्ये शिक्षक र कृषक यस्तो पेशामा पर्दछ जसले आफ्नो पेशालाई पछिल्लो पुस्तामा कहिल्यै पनि आर्कषित गर्न चाहादैन किनकी समाजमा यी दुवै पेशालाई अन्तिम विकल्पको रुपमा मान्यता दिएको छ । तर यी दुवै पेशाविना मानव जिवन र मानव विकासको कल्पना समेत गर्न सकिदैन । राज्यको दृष्टिकोणबाट हेर्ने हो भने अन्य पेशामा लाग्ने व्यक्तिहरु मात्र स्वस्थ हुनुपर्छ उपचार गर्नुपर्छ , लामो समय बाच्नुपर्छ तर कृषकहरुको स्वस्थ उपचारमा कुनै स्थान दिइएको पाइदैन । त्यसको ज्वलन्त उदाहरणकोे रुपमा सैनिक अस्पताल, प्रहरी अस्पताल, निजामती अस्पताल, खोइ त कृषक अस्पताल के कृषकको उपचारको अधिकार छैन ?
एउटा कृषकको गुणस्तरीय उत्पादनले एउटा व्यपारीले मान सम्मान प्राप्त गर्छ, पत्रकारले असल कलम चलाउछ, शिक्षकले आफ्नो कला र गला प्रस्तुत गर्छ, डाक्टरले सहि उपचार गर्न सक्छ, विद्यार्थीले सिक्ने अवसर प्राप्त गर्न सक्छ । त्यसैगरी विभिन्न पेशाकर्मीहरुले आफ्नो पेशालाई मर्यादित गराउन लागी पर्छन र मात्र समाज देशको उन्नती र प्रगती सम्भव छ । एउटा स्वस्थ खाद्यवस्तुमा कति शक्ति छ भन्ने कुरा प्रष्ट हुन्छ ।
अन्तमा हामी सबैको आ–आफ्नो प्रयासले कृषि क्षेत्रलाई माथि उठाउन सकिन्छ । कृषक रमाउन सक्यो भने मात्र समाज र देश रमाउन सक्छ भन्ने मूल मन्त्र लिइ कृषकका क्षेत्रमा आमूल परिवर्तन गर्न हरहमेशा साथ कार्यक्रम निर्माण र संचालनले गरीवी घटाउन रामवाणको काम गर्नेछ ।
हरेक ठाउँमा शिक्षित व्यक्तिको आवश्यकता पर्दछ । अबको समाजमा हलो जोत्ने, कोदालो समाउने, भारी बोक्ने,प्रक्रियाको शिक्षित व्यक्तिको उपस्थितीले साच्चै श्रमप्रति आस्था राख्न आउने पुस्तालाई उत्साहित गर्दछ । यसका लागि कृषि साथै पोषण विज्ञान सँग सम्वन्धित विषयवस्तुहरुलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने देखिन्छ । एउटा बालक विद्यालयमा सिकेर घरमा त्यसलाई परिश्रमको रुपमा प्रयोग गर्न अग्रसर गराउने वातावरण सिर्जना गर्नु नै गुणस्तरीय शिक्षा हो भन्न सकिन्छ ।
मानिस बिरामी हुन्छ, स्वास्थ्य संस्थामा पुग्छ, उपचार गर्छ अनि घर फर्कन्छ तर खेती होस वा पशु पालन न लिएर जान सकिन्छ न त्यसको अवस्था पहिचान गर्न सकिन्छ यसको लागि पशु तथा कृषि प्राविधिकको आवश्यकता पर्दछ । यद्यपी हाम्रो टोल समुदायमा पुगेर सेवा दिने र लिने अवस्था छैन । त्यसले कृषकलाई उत्साहित गर्ने ठाउँमा हतोत्साहित गर्दछ । कृषि वैज्ञानिक हरुको सल्लाह तथा निर्देशनमा कृषि तथा पशु प्राविधिकहरुको निरन्तर सहयोगले पक्कै पनि उत्पादन बाली राखाइ र प्रयोगमा सुधार ल्याउन सकिन्छ भन्ने चिन्तन हुनुपर्दछ । अन्य क्षेत्रमा जस्तै कृषिको सुधारले सम्पूर्ण प्राणीहरुको जिवन जगत वातावरणलाई पनि सुधार ल्याउन सकिन्छ । त्यसका लागि दूरदर्शी , इमानदार, असल, सहनशील, विचारशील र प्रतिवद्ध राजनितिज्ञको आवश्यकता पर्दछ ।

तपाईको प्रतिक्रिया