
सुर्खेत । पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले जनाएका छन् ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज दिउँसो धेरै वर्षाको सम्भावना भएपनी आज राति भने कम हुने र भोलि दिउँसो फेरि धेरै वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।


दर्शन खबर । २१ आश्विन २०७९, शुक्रबार