सुर्खेत ।
कर्णाली प्रदेश सरकारले ल्याएको आव २०७६/०७७ को बजेट पास भएको छ ।
आइतबार विहान नेकपा संसदिय दलको बैठक बसी प्रदेश सरकारले ल्याएको बजेट संशोधन गर्ने शर्तमा बजेट पास हुन दिने निर्णय भएको थियो ।
दलको बैठकमा मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीको चर्को आलोचना गरिएको थियो ।
कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याएको थियो । तर ‘जनता सडक’ कार्यक्रममा विनियोजन गरिएको बजेट कम भएको र चालु खर्च बढी भएको भन्दै सांसदहरूले विरोध गर्दै आएका थिए ।
यस अघि सरकारले जनता सडक कार्यक्रम अन्तर्गत हरेक निर्वाचन क्षेत्रका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । तर सांसदहरूले यो बजेट बढाएर १० करोड पु¥याउन माग गर्दै आएका थिए । सत्तारुढ सांसदहरूले नै विरोध गरेपछि प्रदेश सभाबाट बजेट पारित हुन नसक्ने अवस्थाको सिर्जना भएको थियो ।
आइतवार सभामुख राजबहादुर शाहीले विनियोजन विधेयक निर्णयार्थ पेश गर्नै लाग्दा प्रमुख प्रतिपक्ष कांग्रेसले केही समय बैठक अवरुद्ध गरेको थियो ।
जनता सडक कार्यक्रममा बजेट थप्ने सहमतिपछि आइतवार नै प्रदेश सभाबाट बजेट सर्वसम्मत पारित भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेको ‘कर्णाली पूर्वाधार विकास लगानी कोष’ को नाममा यसअघि विनियोजन भएको तीन अर्ब रकममध्ये अब एक अर्ब ९२ करोड बजेट जनता सडक कार्यक्रममा थप गरिनेछ ।
यस्तै पूर्वाधार विषेश कार्यक्रममा विनियोजन गरिएको एक अर्ब २० करोड बजेट पनि अब निर्वाचन क्षेत्रमा खर्च गर्ने सहमति भएको हो । यसअनुसार अब हरेक निर्वाचन क्षेत्रका सांसदले आफ्नो क्षेत्रको विकास गर्न पाँच करोड बजेट पाउने छन् ।
जनता सडक कार्यक्रममार्फत १० करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत पाँच करोड गरी करिब १५ करोड जति बजेट आफ्नो निर्वाचन क्षेत्रमा सोझै जाने भएपछि सांसदहरू बजेट पारित गराउन सहमत भएका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख बजेट संसदमा पेश गरेको थियो । यस्तै सांसदहरूले चालुतर्फको बजेट पनि कटौती गर्न माग गरेका थिए । बैठकमा सभामुख राजबहादुर शाहीले सांसदको माग अनुसार नै चालुतर्फको बजेट कटौती गरेर रकमान्तर गर्ने, कटौती गरिएको चालुतर्फको बजेट सन्तुलन मिलाएर अन्य शिर्षकमा थप गर्ने र सहमतिका बुदालाई विनियोजन विधेयकको अंग मान्ने घोषणा गरेपछि सांसदहरू नरम बनेका हुन् ।
बजेट संसोधन गर्ने सहमति भएपछि सभामुख शाहीले बजेट पारितका लागि निर्णयार्थ पेश गरेका थिए । बजेटको पक्षमा सत्तारुढ नेकपाका सांसदहरूले समर्थन जनाए । कांग्रेस सांसदहरूले समेत मौन समर्थन जनाएका थिए ।
यसअघि सत्तारुढ सांसदहरूले नै बजेटको चर्को आलोचना गर्दै आएका थिए । मन्त्रालय र विषयगत शिर्षकमाथि विनियोजन भएको बजेटमाथिको छलफल सकिएपछि आइतवार बजेट पारित भएको हो ।
सांसदहरूको असन्तुष्टिका कारण यसअघि प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न डाकिएका दुई वटा बैठक बस्न सकेनन् । संसद बैठक चल्न नसक्दा बजेटमाथिको छलफल पनि ढिला मात्र सुरु भएको थियो ।



दर्शन खबर । २९ असार २०७६, आईतवार