चिन्तामणि शर्मा
सुर्खेत ।
हिन्दी फिल्म ’दिलवाले’मा अजय देवगनले आफ्नी प्रेमिकालाई भनेका थिए, मुझे तो अपनौने लुटा, गैरौमे क्या दम था, मेरी किस्ती थी डुवी वहाँ, जिसमे पानी कम था !’
यस्तै हालत भएको छ, कर्णाली प्रदेश सरकारको । प्रत्यक्षमा २४ मध्ये २३ र कुल सिट ४० मध्ये ३३ सिटमा अभुतपूर्व कव्जा जमाएको नेकपाको नेतृत्वमा सरकार चलिरहेको छ । प्रतिपक्षमा रहेको कांग्रेस संसदमा कमजोर अवस्थामा रहेको छ । सरकारलाई अप्ठ्यारो पार्ने ताकत कांग्रेससंग देखिदैन । सरकारले गरेका सामान्य प्राविधिक विषयहरुलाई मात्रै संसदमा उठान गर्ने गरेको कांग्रेसलाई नेकपा भित्रको गाईजात्राले राहतको महसुस गराईदिएको छ ।
संसदीय व्यवस्था भएका मुलुकहरुमा संसद संचालनका आफ्नै मर्यादा र सिमारेखाहरु तानिएका हुन्छन । सरकार पक्षीय सांसदहरू सरकारले गरेका निर्णयहरुको वचाउमा र प्रतिपक्षहरु सरकारले गर्ने कमजोरी पत्ता लगाउदै सरकारलाई बदनाम गर्ने योजनामा रहेका हुन्छन । सरकार जति वढी बदनाम हुन्छ, त्यतिनै वढी आफ्नो पार्टीलाई आउने निर्वाचनमा फाईदा हुने निष्कर्ष सहित प्रतिपक्ष दल ‘वाचडग’ को भूमिकामा रहेको हुन्छ । मतदाताहरुलाई निर्वाचनको समयमा सरकार पक्षलाई भोट हालेर गल्ती गरिएछ भन्ने वनाउनु प्रतिपक्षको धर्म हो ।
तर, कर्णाली प्रदेशका सत्तापक्षीय सांसदहरू भने प्रतिपक्षका सांसदहरू भन्दा चर्को स्वरले सरकारको विरोध गरिरहेका छन । सरकारले गरेका हरेक निर्णयहरुको रक्षा सत्तापक्षीयहरुको धर्म हो । तर चर्काे स्वरमा सरकारको विरोध गर्ने सांसद मध्येका एक ठम्मर विष्टले सरकार असक्षम भएको वताउदै वजेट सच्याउन या सरकार छोड्न चेतावनी दिए ।
सरकार प्रती आक्रामक वनेका सत्तापक्षीय सांसदहरू दानसिं परियार, अमरवहादुर थापा, धर्मराज रेग्मी, गोपाल शर्मा,सुशील थापा, विन्दमान विष्ट लगायतले सरकार र वजेट प्रती तिव्र आक्रोश पोखेका छन । यति मात्रै होईन शुक्रबारको वैठकमा व्यक्तिगत आक्षेप लाग्ने गरि भौतिक पूर्वाधार मन्त्री खड्क खत्रीलाई ’भित्र पनि कालो, वाहिरपनि कालो र मन पनि कालो’ भएको भनी टिप्पणी गरे ।
संसदीय मर्यादा र वोलीमा लगाम नहुदा आजभोली प्रदेश सभा कुनै एक भट्टी पसल जस्तो वनेको छ ः जहाँ नशाको तालमा जे पनि वोल्न छुट छ !
आव २०७६/०७७ को वजेटको विषयगत छलफलमा सुरुमानै टिप्पणी गर्दै ’भाईरल’ वनेका सांसद ठम्मरवहादुर विष्टले पछिल्लोपटक अर्को मन्त्रालयवारेको टिप्पणी गर्दा भने मिडिया समेतलाई वाकी राखेनन ।
उनले मिडियाहरु कर्णाली सरकारवाट किनिएको गम्भीर आशयको आरोप लगाए । सरकार विरुद्ध मिडिया आक्रामक नवनेको प्रति रोष प्रकट गर्दै मिडियाहरु जिम्मेवार वन्नु पर्ने उपदेश दिए । मिडियाको कारण नै आफु अहिले ’भाईरल’ वनेको उनले चटक्कै विर्सिदिए ।
कर्णालीमा विष्टले शंखनाद गरेसंगै अन्य माननीयहरुपनि एकपछि अर्को गरि भाईरल वन्ने दौडमा रहेका छन । यसले नेकपाको नेतृत्वमा वनेको सरकार थप कमजोर वन्दै गएको छ । जनताहरु निराश वन्दै गएका छन भने सरकार र नेकपा प्रतिको जनविश्वासमा समेत कमी आएको छ । कर्णाली सरकार अनि यहाको पार्टीलाई यस्तो प्रकारको विवादले जनता उनीहरू प्रती विकर्षित भई आउने निर्वाचनमा पराजित वन्ने भय पटक्कै रहेको पाईदैन ।
दुईतिहाइ भन्दा वढीको जनमत कर्णाली प्रदेशका जनताहरुले पार्टी भित्र एकअर्कालाई हिलो छ्यापाछ्याप गर्न पक्कै दिएका थिएनन । निर्वाचन पछि देश समुन्नत वन्ने, मेगा प्रोजेक्टहरुको स्थापना हुने, वेरोजगारी अन्त हुने र स्थायी शान्ति हुने आशामा रहेका जनताहरु अहिले निराश वनेका छन ।
नेकपालाई प्राप्त ऐतिहासिक उपलब्धिहरुलाई जोगाई राख्न कहिकतैवाट पहल गरिएको छैन । गुटउपगुठवाट थिलोथिलो वनेको पूर्व एमाले र आफुलाई संसारै जितेर आएको जस्तो गर्ने पूर्व माओवादी वीचमा भएको पार्टी एकतालाई पार्टीका कतिपय नेता कार्यकर्ताहरुले रुचाएका छैनन् । पार्टी एकताका लागि कमिटीहरु समायोजन र जिम्मेवारी वाडफाडका कामहरु अझै वाकी नै छन । प्रदेश कमिटी वनेको छ तर यसले काम गर्न सकेको छैन ।
प्रदेश संयोजक जनार्दन शर्मा राष्ट्रिय राजनीतिमा मस्त रहेका छन । सहसंयोजक यमलाल कडेल मुख्यमन्त्री खोसिएकोमा शोक मनाईरहेका छन । प्रदेश अध्यक्ष गोरख वोगटीले काम गर्ने मेलोमेसो नै पाईरहेका छैनन् भने राजीनामा दिएर पुन फिर्ता भएका सचिव पारसमणि आफ्नो मणि कता हरायो भन्दै अर्काको टाउकोमा मणि खोज्दै दगुरिरहेका छन । जोरजम्मा पारेर गुठउपगुठ मिलाई वनाएको नेकपाको प्रदेश कमिटी सदस्यहरुलाई आफ्नो अधिकार र काम कर्तव्य के हो जानकारी नै छैन ।
यति विषम परिस्थितिको सिर्जना भएको छ कि कर्णाली सरकारमा रहेका मन्त्री परिषदका आफ्नै ७ जनाको पनि एकढिक्का समर्थन पाउन सकेको छैनन् । हालको अवस्थाको विश्लेषण गर्ने हो भने सरकार पूर्णरुपमा अल्पमतमा रहेको छ ।
लडाकु कमाण्डरवाट राजनीतिमा आएका मुख्यमन्त्री महेन्द्रवहादुर शाही बाहिर कस्तो खिचडी पाकिरहेको छ भन्ने कुरामा पूर्णरुपमा वेखवर छन । खुल्ला एवम् संसदीय राजनीतिमा हुने चलखेलवारे कम वुझेका शाहीको सचिवालय र सल्लाहकार टिम समेत गतिलो छैन ।
आफ्ना नातागोता र भाईभारदारहरुको घेरामा मुख्यमन्त्री शाही रहेका छन । आफ्नो जिल्ला अनि जात भन्दा बाहिर निस्कन नसक्ने अनि पूर्व माओवादी खेमाको कुरामात्रै सुन्ने आरोपहरुको खण्डन हुनेगरि उनका व्यवहारहरु परिमार्जन हुदै भएका छैनन् ।
मन्त्रालयमा मन्त्रीहरुको विजोग छ । कर्मचारी छैनन, भएपनि मन्त्रीको आदेश सचिवले मान्दैनन् । निर्णय कार्यान्वयन गर्ने अंग कर्मचारीतन्त्र काम गर्ने मुडमै देखिदैन । कम अनुभव भएका मन्त्रीपरिषदका सदस्यहरु भएको कारण कर्मचारी संयन्त्र सरकारमाथि हावी भएको देखिन्छ । आफ्नो ईन्टे«स्टमा काम हुने भए काम गर्ने, अन्यथा नियम कानुनको वहाना गर्ने र अख्तियारको हाउगुजी देखाई काम नगर्ने प्रवृति कर्मचारीमा वढ्दो छ ।
सत्तापक्षीय सांसदहरू नै वजेट पास हुन नदिनेगरि अघि वढिसकेको अवस्थामा उनीहरूको पनि ’फेस सेभिङ’ हुनेगरि सरकार अघि वढ्नु पर्दछ । संसदीय व्यवस्थामा वजेट पास नभए सरकार ढल्छ । यसपछिको अर्को विकल्प भनेको नेकपाकै नेतृत्वमा अर्को सरकार वन्नु हो ।
सरकार ढालेर अर्को सरकार वन्दापनि हाल सरकारमा रहेकाहरु पछि चुप लागेर वस्ने छैनन । ‘कहिले सासुको पालो त कहिले वुहारीको पालो’ भने झै उनीहरू पनि उग्र वन्दै जानेछन । पार्टीको अनुशासन, नियम कानुनहरु हराउदै जानेछन । नेकपा अराजकहरुको भीड वन्नेछ अनि जनताको समृद्धि एकादेशको कथा वन्नेछ ।
हो, अहिलेको कर्णाली सरकारले गति लिन सकेको छैन । यसका थुप्रै कारणहरु रहेका छन । कर्मचारी अपुग, कर्मचारी संयन्त्रको असहयोग, अनुभवहीन मन्त्री परिषद र पार्टीको अपेक्षित सहयोग नहुनु यसका प्रमुख कारणहरु हुन ।
यी यस्ता अप्ठेरा र गाठाहरु फुकाउन सिनियर नेताहरू अग्रसर हुनै पर्दछ । सरकारमा वसेकाहरुलेपनि सिनियरहरुको मर्यादा गर्नै पर्दछ । पार्टी र सिनियर नेताहरूको सुझाव र सल्लाह शिरोधार्य गर्दै सरकार अघि वढ्नै पर्दछ । सरकार अलोकप्रिय हुदा पार्टी समेत अलोकप्रिय वन्ने भएकोले समयमै सरकारलाई सहि वाटोमा ल्याई सरकारका गतिविधिहरुलाई सहयोग पु¥याउने गरि नेताहरूले काध थाप्नै पर्दछ ।
यदि कुनैपनि हिसाबले सरकार सुध्रिन सक्दैन भन्ने नेता र सांसदहरुको ठम्याइ हो भने सरकार परिवर्तन गर्न समेत ढीलाई गर्नु हुदैन । प्रदेशको मुल राजनीतिक नेतृत्व एक ठाउमा बसी यस बारेमा गम्भिर छलफल गर्नै पर्दछ । यसले जनतामाझ नेकपाको गुम्दै गएको साख पुन फर्काउन मद्दत मिल्नेछ । आगे नेकपाकै मर्जी !



दर्शन खबर । २९ असार २०७६, आईतवार