
सुर्खेत । हिन्दुहरुको महान चाड दसैं तिहार र छठ पर्व नजिकिएसँगै कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरी असोज ९ गतेदेखि लागु हुने गरेर विशेष सुरक्षा योजना बनाएको हो । चाडपर्वका बेलामा हुने सक्ने घटनालाई ध्यानमा राखेर चार हजार एक सय ४१ जना सुरक्षाकर्मी समेत खटाइएको प्रदेश प्रहरीले जनाएको छ । सुरक्षा योजनामा कुकुर परिचालन गर्नेदेखि मोवाइल गस्ती, तत्काल रेस्पोन्स टिम परिचालन र यात्रुको सहजताका लागि सहायता कक्ष स्थापनासम्मको योजना समेटिएका छन् ।
चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले प्रदेशका १० जिल्लामा चार हजार एक सय ४१ जना सुरक्षाकर्मी खटाइएको बताए । प्रदेशका १२५ स्थानमा क्वीक रेस्पोन्स टिम परिचालन गरिने छ ।
चार्डपर्वको अवधिमा प्रदेशभर नियमित चेक प्वाइन्ट ३१ स्थानमा, ट्राफिक सहितको संयुक्त चेकिङ ५३ स्थानमा, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रणका लागि १८ स्थानमा चेकिङ गरिने प्रदेश प्रहरीले जनाएको छ । यस्तै झै–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थान र २ सय ६५ स्थानमा मोवाईल गस्ती र पैदल गस्ती गरिने छ ।
१८ स्थानमा विशेष चेकिङ अन्र्तगत दुई वटा चालकको व्यवस्था गरिने प्रदेश प्रहरीले जनाएको छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको कृतिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था गरिने बताइएको छ । यस्तै आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षा तथा बजार अनुगमका लागि ७५ स्थान छुट्याइएको छ ।


दर्शन खबर । ८ आश्विन २०७९, शनिबार