
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिट बाँडफाँटमा सहमति नजुट्दा गठबन्धनमा लफडा भइरहेको बताएका छन् । उनले माओवादीले एमालेको नाम भजाएर कांग्रेससँग भाग मागिरहेको दावी समेत गरे ।
प्रेस चौतारी नेपाल दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले माओवादीसँग यो चुनावमा कुनै खालको गठबन्धन नहुने भन्दै आवश्यकता अनुसार स्थानीय स्तरमा गठबन्धन गर्ने व्यवस्था मिलाइएको पनि बताए ।
महासचिव पोख्रेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट प्रतिनिधि सभा सदस्यमा आफू लड्ने घोषणा पनि गरे। दाङ-२ बाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेर जित्ने र संसदको यात्रा तय गर्ने उनको दावी थियो ।
दाङलाई स्थायी राजधानी बनाउन आफूले बोले अनुसारको बाचा पूरा गरेको भन्दै उनले अहिले पाँच दलीय गठबन्धन सरकारले स्थायी राजधानीमा सबै संरचना सार्न आलटाल गरिरहेको आरोप लगाए ।


दर्शन खबर । २६ भाद्र २०७९, आईतवार