जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

जुम्ला : जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सबै बालबालिकाले खोप प्राप्त गरेपछि बिहीबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो ।

मुख्यमन्त्री शाहीले जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु भनेको स्वास्थ्य स्थितिमा सुधार आएको सन्देश दिएको बताउनुभयो । कर्णाली प्रदेश सरकारका पूर्वाधार विशेष कार्यक्रमको छलफलका लागि जुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले जुम्ला हरेक दृष्टिले विकसित हुँदै गएको चर्चा गर्नुभयो ।

जुम्लाको विकासका लागि कर्णाली प्रदेश सरकारले चालु आवको बजेटमा पहिलो प्राथमिकता दिएको उहाँको भनाई छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदम रोकायाले जुम्लामा कुनै समय सिटामोल नपाएर मृत्यु स्विकार्ने जुम्ला अहिले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु गौरवको कुरा भएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया