सुर्खेत : कर्णाली प्रदेश सरकारको कृषिमा अर्गानिक प्रदेश बनाउने लक्ष्यमा हातेमालो गर्न बृहत् ‘कर्णाली संवाद’ हुने भएको छ। भदौ २६ गते अर्गानिक कर्णालीका लागि बृहत् ‘कर्णाली संवाद’ हुने भएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा कृषिमा अर्गानिक प्रदेश बनाउने लक्ष्यमा हातेमालो गर्न संवाद गर्न लागेको हो ।
प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अर्गानिक कृषि उत्पादन तथा उपभोग, यसका लागि आवश्यक लगानीको आधार लगायतका विषयमा छलफलका लागि संवाद हुनलागेको कर्णाली प्रदेशले जनाएको छ ।
कर्णाली प्रदेशको भू–बनोट, हावापानी, जलवायु, खेतीयोग्य भूमिको स्रोत, कृषक समुदायको सामाजिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै संवाद हुने भएको व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताउनुभयो ।
संवादको व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले सहयोग गरेका छन । कार्यक्रमका लागि करिब १० लाख रुपैयाँ लाग्ने अनुमान कर्णाली प्रदेश सरकारले गरेको छ ।
संवादमा चीन, भारत, फिनल्यान्ड र स्विट्जरल्यान्डका राजदूतलाई निमन्त्रणा गरिएको छ ।


दर्शन खबर । २५ भाद्र २०७९, शनिबार