कुलेन्द्र शाही सुर्खेत / जाजरकोटको शिवालय गाउपालिकामा शनिवार पोषण मेला तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
पश्चिम जाजरकोट विकास समाजको आयोजना र विकास कोष नर्वे तथा सहकर्मी समाजको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । पोषण मेला तथा तिज विशेष कार्यक्रममा महिलाहरुले मौलिक कला संस्कृतिको प्रर्दशन गरेका थिए ।
कार्यक्रममा १९ वटा समूहका सदस्यहरुले सहभागिता जनाएका थिए ।उक्त कार्यक्रममा उपस्थिति भएकाहरुले पोषण तथा तीज गित लगायतका विभिन्न सांस्कृतिक र मनोरन्जनात्मक जनचेतना मुलक सन्देश सहितका रचना प्रस्तुत गरेका थिए ।
यस्तै सहभागीहरुले समाज परिवर्तनका लागी आफैबाट सुरुवात गर्नुपर्ने साथै संस्कृतीलाई जगेर्णा गर्ने नाममा चाडपर्वलाई भड्किलो गरी मनाउने परिपाटि बढेको भन्दै त्यसलाई रोक्ने जिम्मेवारी प्रत्येक नागरिकको भएकोमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागि महिला दिदिबहिनीहरुलाई पश्चिम जाजरकोट विकास समाजले सालको पातको टपरीमा तिजको दर खुवाएर सम्मान तथा शुभकामना दिएको छ भने सहभागीहरुमा पोषण सम्बन्धि सिनियर अनमी कृष्ण बि.सि ले छलफल गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले अर्को वर्ष आवश्यक आर्थिक सहयोग गर्ने र यस्तो राम्रो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभएको छ । यस्तै गाउँपालिका उपाध्यक्ष गिता शाहीले अहिले आफू नयाँ जनप्रतिनिधि भएको र आगामी दिनमा यस्ता कार्यक्रमको लागि बजेटको व्यवस्थापन गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा पश्चिम जाजरकोट विकास समाजी कोषाध्यक्ष अध्यक्ष हिमसरा रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाही रहनुभएको थियो । यस्तै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष गीता शाही रहनुभएको थियो ।
कार्यक्रममा शिवालय गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत,विभिन्न वडाका वडा अध्यक्ष, गाउँपालिकामा कार्यरत अन्य कर्मचारी, राजनितिक दलका प्रतिनिधि,लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन पश्चिम जाजरकोट विकास समाज कि सचिव संगिता पुनले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण पश्चिम जाजरकोट विकास समाजका कार्यक्रम व्यवस्थापक राम प्रसाद शर्माले गर्नुभएको थियो ।


दर्शन खबर । ११ भाद्र २०७९, शनिबार