
काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँहरूमा सस्तोमा डलर साटिदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ थलाडाँडा घर भई हाल काठमाडौँ बौद्धस्थित आरुवारि बस्ने वर्ष ३२ का समीर भन्ने सञ्जय तामाङ तथा सोही ठाउँ घर भई हाल ललितपुर धापाहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
उनीहरूले बौद्ध, कपन, टोखा, साँखुलगायत उपत्यकाका विभिन्न ठाउँहरूमा सस्तोमा डलर साटिदिने भन्दै प्रलोभन देखाइ ठगी गरेको प्रहरीले जनाएको छ ।
पछिल्लोपटक उनीहरूले काठमाडौँ टोखास्थित युनिक कलोनीबाट १५ लाख बराबरको डलर साटिदिने भन्दै ठगी गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका हन् । उनीहरूले पीडितलाई सस्तोमा डलर साटिदिने भन्दै ५, १० र २० दरका नेपाली नोट केही डलरको बिचमा राखेर ठगी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।


दर्शन खबर । ७ भाद्र २०७९, मंगलवार