सुर्खेत/ काठमाडौंबाट सुर्खेत आउँदै गरेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । रत्न राजमार्गको छिन्चु धुलियाविट सडक खण्डको भेरीगंगा नगरपालिका २ पैसठ्ठीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरतर्फ आउँदै गरेको ना ७ ख ५८११ नम्बरको रात्रीकालिन बसमा ढुङ्गा खस्दा सवारी चालकभन्दा पछाडीको सिटमा बसेका दुइ जना घाइते भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।
दैलेखको भगवतीमाई गाउँपालिका २ का १७ वर्षीय पार्वती शाहीको उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ढुंगा लागेर शाही र वीरेन्द्रनगर ६ का ४५ वर्षीय राजकुमारी सुनार घाइते भएका थिए । तर टाउकोमा गम्भीर चोट लागेकी शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
सुनारको दाइने कानमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । गाडीमा ३१ जना सवार रहेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका ३ का २९ वर्षीय नमबहादुर रोकाया प्रहरीको नियन्त्रणमा छन ।


दर्शन खबर । ११ श्रावण २०७९, बुधबार