जसले भारत गएर मिर्गौला बेचे, उनैले अरुलाई पनि बेच्न सिकाए, निशानामा सडक बालबालिका

सुर्खेत / दैलेखको चामुण्डा बिन्द्रासयनी नगरपालिका–६ का ३२ वर्षीय विमलबहादुर शाही यस्ता पात्र हुने जसले आफ्नै राजीखुसीमा भारत गएर एउटा मृर्गौला बेचे। विधान र हिमाल उपनामले चिनिने रामेछापको मन्थली नगरपालिका–५ का २८ वर्षीय धनबहादुर रोकाले पनि शाहीकै शैली अपनाउँदै मिर्गौला बेचे।

यी दुई पात्रले आफ्नो मात्रै मिर्गौला बेचेनन्, अब अन्य पात्र खोजी गर्दै भारतसम्म पुर्‍याएर मिर्गौला बेच्न थाले। आफ्नो मिर्गौला बेच्नबाट सुरुवात गरेका यी दुईले अवैध ठानिएको मिर्गौला बेच्न धन्दा नै चलाउन थाले। मानव बेचबिखन अनुसन्धान ब्यूरोले यी दुई पात्रसहित पाँच जनालाई गरेपछि मिर्गौला बेच्ने गिरोहको पर्दाफास भएको छ।

यी दुई गिरोहसँगै ब्यूरोले गुल्मीको तम्घास नगरपालिका–२ का ३१ वर्षीय विजय कुँवर, झापाको पृथ्वीनगर नगरपालिका–१ का २१ वर्षीय छाटे भनिने आशिष तामाङ र दैलेखको चामुण्डा बिन्द्रासयनी नगरपालिका–६ का २८ वर्षीय धुपेनद्र शाहीलाई पक्राउ गरेको छ।

यो गिरोहले विशेषगरी काठमाडौंका सडक बालबालिकालाई लक्षित गरेर भारत पुर्‍याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ। गरिब, अशिक्षित र पैसाको खाँचो परेका व्यक्ति खोज्ने र उनीहरुलाई प्रलोभनमा पारेर मिर्गौला तस्करी गर्ने गरेको ब्यूरोका प्रवक्ता तथा एसपी दानबहादुर मल्लले जानकारी दिए।

धनबहादुर रोका र विजय कुँवरले पक्राउ परेका तीन जनालाई परिचालन गरेर काठमाडौंका सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाएर मिर्गौला दिन उक्साउने काम गर्न लगाएका थिए।

सडक बालबालिकासँग चिनजान गर्ने, उनीहरुलाई सहयोग गरेजस्तो र फकाएर एउटा मिर्गौला बेच्दा केही नहुने भनेर आश्वास दिने गरेको पाइएको छ। मान्छेको शरीरमा दुई वटा मिर्गौला हुने र एउटा दिँदा केही फरक नपर्ने आफूहरुले पनि मिर्गौला बेचेको भन्दै पेटमा चिरिएको भागसमेत देखाएर बेच्न उक्साउने गरेको खुलेको छ।

यसरी भारतको कलकोत्ता पुर्‍याएर मिर्गौला बेच्ने र त्यस वापत ५ लाख रुपैयाँसम्म पाउने र फर्कदा ५० हजार रुपैयाँसम्मको मोबाइल समेत गिफ्ट पाउने भन्दै यो गिरोहले सडक बालबालिकालाई मिर्गौला बेच्न उक्साउने गरेको एसपी मल्लको भनाइ छ।

यसरी विश्वासमा पारेर काठमाडौंमा रहेका पोलिक्लिनकहरुमा मिर्गौला दाताले गर्नुपर्ने सबै जाँचका कामहरु गरेर भारत लैजान लागिएको अवस्थामा प्रहरीले सुरुमा असार १५ गते तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनाको बयानको आधारबाट थप दुई जनालाई असार २८ गते पक्राउ गरिएको हो।

पक्राउ परेकाहरु मध्ये धनबहादुर रोका यसअघि आफैं मिर्गौला बेचेर मिर्गौला प्रत्यारोपरणका लागि मोलमोलाइ गर्ने व्यक्ति रहेको खुलेको छ। मिर्गौला ग्रहणकर्ताको आवश्कता अनुसारको मिर्गौला दाता खोज्न सहयोगी परिचालन गर्ने काम रोकाले गरेका थिए। मिर्गौला बेच्न मान्छे खोज्ने आफ्ना सहयोगीलाई उनले भूमिका अनुसारको पैसा समेत दिने गरेका थिए।

उनै रोकाले मिर्गौला बच्ने मान्छेलाई भारतसम्म पुर्‍याउने मिर्गौला बेचिसकेपछि पुनः नेपाल फिर्ता ल्याउने गरेको समेत अनुसन्धानबाट खुलेको छ। कुँवर भने रोकाको निर्देशनमा ग्रहणकर्ता कुन रगत समूहको मिर्गौला आवश्यक भएको छ भनि यकिन गर्ने, मिर्गौला बेच्ने मान्छे खोज्न आफ्ना सहयोगी परिचालन गर्ने व्यक्ति हुन्।

धुपेन्द्र शाही भने रोका र कुँवरको निर्देशनमा बसेर काम गर्ने व्यक्ति हुन्। उनले पीडितलाइ प्रलोभनमा पार्ने र उनीहरुको स्वास्थ्य जाँच गराउने व्यक्ति भएको पाइएको छ। बिमलबहादुर शाही र तामाङले भने मिर्गौला बेच्ने मान्छे खोजी गर्ने, उनीहरुलाई प्रलोभनमा पार्ने र होटलमा राख्ने व्यक्ति भएको एसपी मल्लको भनाइ छ।नेपाल लाइभ


तपाईको प्रतिक्रिया