एसबीआई बैंकबाट ‘पत्रकार’ले चोरे पैसा

काठमाडौँ । प्युठान घर भई त्रिपुरेश्वरमा फल्कोलाइन इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि नामको कम्पनी चलाउँछन् प्रकाश राज भण्डारी । सामानहरूको आयात निर्यात गर्ने उक्त कम्पनीको चेकबुक करिब तीन महिना अगाडि हरायो । चेकबुक हराएलगत्तै भण्डारीले आफ्नो खाता रहेको नेपाल एसबीआई बैंकमा जानकारी गराएर हराएका सबै चेकहरू बन्द गर्न लगाए ।
हराएका चेकबुक बन्द गर्न सूचना दिएपछि भण्डारीलाई कुनै चिन्ता रहेन । उनी खुरुखुरु आफ्नो काम गरिरहे । तर करिब १५ दिन पहिले प्रहरीकोमा एउटा गुनासो आयो – प्रकाशराज भण्डारीको कम्पनीको नामबाट अनधिकृत व्यक्तिले धमाधम पैसा निकालिरहेको छ । आफूले चेक नकाटे पनि धमाधम चेकमार्फत् पैसा झिकिएपछि भण्डारीले एसबीआई बैंक र नेपाल प्रहरीलाई सोबारे खबर गरेका थिए ।

खबर प्राप्त भएलगत्तै प्रहरीले अनुसन्धान सुरु गर्‍यो । सौरभ डंगोल नाम गरेका व्यक्तिका नाममा धमाधम चेक काटिएको र पैसा निकालिरहेको थाहा पाएपछि प्रहरीले उनको खोजी सुरु गर्‍यो । भण्डारीको कम्पनीको नामबाट चेक आएमा वा सौरभ डंगोल भन्ने व्यक्ति पैसा झिक्न आएमा प्रहरीलाई तत्काल खबर गर्न बैंकलाई खबर गर्न भनियो ।
२०७९ असार ३१ गते शुक्रबार नेपाल एसबीआई बैंक कलंकी शाखाबाट कालीमाटी प्रहरीलाई फोन आयो । सौरभ डंगोल भन्ने व्यक्ति फल्कोलाइन इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीको चेक बोकेर बैंकमा आएका छन् । बैंकका कर्मचारीले युवकलाई एकछिन भुलाएर राखे । त्यसलगत्तै प्रहरी पुगेर एक २१ वर्षीय युवकलाई पक्राउ गर्‍यो । पक्राउ पर्ने व्यक्ति थिए, मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ६ घर भई हाल ललितपुरको सातदोबाटो बस्ने २१ वर्षीय वाशुदेव अर्याल ।
सौरभ डंगोलको खोजीमा निस्किएको प्रहरीले बैंकबाट २१ वर्षीय वाशुदेव अर्याललाई पक्राउ गरेर प्रहरी वृत्त कालीमाटीमा ल्यायो । शुक्रबार २ बजे पक्राउ परेका वाशुदेव अर्यालको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि प्रहरी सातदोबाटोस्थित वाशुदेवकै कोठामा पनि पुग्यो । अनि त्यहाँ पुगेर खानतलासी गर्दा प्रहरीले नेपाल एसबिआई बैंक, प्रभु बैंक, नेपाल बैंक लगायत बैंकका चेकबुक र एनएमबी लगायतका केही बैंकका चेक फेला पार्यो । साथमा थियो वाशुदेवले नक्कली हस्ताक्षर गर्न प्राक्टिस गरेको दस्तखतको नमुना, विभिन्न बैंकमा डिपोजिट गरिएको बैंक भौचरको कागजात, विभिन्न कम्पनीको छाप, विभिन्न व्यक्तिका सवारीचालक अनुमतिपत्र, विभिन्न कम्पनीका १६ थान सिमकार्ड, दुईवटा मोबाइल, डेल कम्पनीको ल्यापटप । आइतबार काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।
मकवानपुरको थाहा नगरपालिका घर भएका २१ वर्षीय वाशुदेव अर्यालको खास पेशा के हो भन्ने अझै पत्ता लागेको छैन । यद्यपि अर्यालको साथबाट पत्रकार परिचय पत्र भने बरामद भएको छ । प्रहरीका अनुसार सूचना विभागबाट जारी भएको ‘तिखोकलम डट कम’ नामक सञ्चार संस्थाको ३०८३७ नम्बरको पत्रकार परिचय पत्र समेत फेला परेको छ । रातोपाटीबाट


तपाईको प्रतिक्रिया