तुलसीपुर–सल्यान कालीमाटी–सुर्खेत सडक अलपत्र

सुर्खेत / सल्यान हुँदै सुर्खेत जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने तुलसीपुर–सल्यान कालीमाटी–सुर्खेत सडकखण्ड ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । २०७८ असार २० मा सम्पन्न हुनुपर्ने सडक सम्झौता सकिएको एक वर्ष बितिसक्दा समेत आधा पनि काम सम्पन्न हुन सकेको छैन ।

कालोपत्रे गरिएको ठाउँमा कालोपत्रे उप्किएको छ भने १७ किलोमिटरभन्दा बढी सडकमा कालोपत्रेको काम गर्न बाँकी छ । सडकको समयमै स्तरोन्नति नहुँदा कालीमाटीवासीले सास्ती भोग्नुपरेको स्थानीय देवीलाल वलीले बताउनुभयो । उहाँका अनुसार ठेकेदार कम्पनीले चुस्त दुरुस्त काम गर्न सकेन । कम्पनीले सडक छेउमा बालुवा गिट्टी थुपार्दा झन जोखिम बढेको स्थानीयको भनाइ छ ।

निर्माण भएको सडक पनि गुणस्तरीय नभएको स्थानीयको आरोप छ । ठेकेदार कम्पनीको काममा ढिलाई र गुणस्तरीयता कमजोर रहेको उपभोक्ताको गुनासो छ । स्थानीय कमला रावतले पाँच वर्षमा सडक कालोपत्रे गर्ने भनिए पनि ६ वर्षभन्दा बढी समय बितिसक्दा समेत आधा काम हुन नसकेको बताउनुभयो । उहाँका अनुसार झारा टार्ने हिसाबले ठेकेदार कम्पनीले काम गरिरहेको छ ।

कालोपत्रे गरेको ठाउँमा पनि गुणस्तरीय काम नगर्दा कालोपत्रे उप्किएको कालीमाटी गाउँपालिका १ का वडाध्यक्ष रविलाल बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले काम गरिरहेकोजस्तो देखिन्छ तर कालोपत्रे उप्किँदै गएको छ ।”

२०७४ असार २० गते सुरु भएर २०७८ असार २० मा सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म ठेकेदार कम्पनीले काम नगर्दा सडक अलपत्र परेको स्थानीयको गुनासो छ । सो सडक निर्माण गर्न एक पटक म्याद थप भइसकेको छ । फेरि म्याद थप्ने तयारी भइरहेको बुझिएको छ । सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे गर्न ४४ करोड बजेट विनियोजन गरेको छ । कार्यालयले गरेको टेन्डरअनुसार कालिका जेभी कन्स्ट्रक्सनले कामको जिम्मेवारी पाएको छ ।

लगातार दुई वर्ष कोरोनाका कारण र कच्चा पदार्थको अभावमा काम गर्न नसकेको ठेकेदार कम्पनीले बताएको छ । अझै कालोपत्रेको काम गर्न बाँकी रहेकाले सडक साँघुरो हुँदैजाँदा दुर्घटनाको जोखिम बढेको छ ।

ठेकेदार कम्पनीले चार वर्षको अवधिमा २७ किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा झन्डै १० किलोमिटर मात्र कालोपत्रेको काम सम्पन्न भएको जनाएको छ । कालीमाटी गाउँपालिका प्रमुख दानबहादुर खत्रीले ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दै आएपनि कामलाई निरन्तरता नदिएको गुनासो गर्नुभयो । उहाँका अनुसार निर्माण कम्पनीले सडक निर्माणको काम जति छिटो छरितो, गुणस्तरीय काम गर्नुपर्ने हो, भएको छैन ।

सरकारले सो सडक एक दशक पहिलेदेखि कालोपत्रे गर्न सुरु गरेको हो । तुलसीपुरदेखि सुर्खेतको बोटेचौरसम्म चार प्याकेज बनाएर झन्डै एक अर्ब बजेट विनियोजन गरेर सरकारले ठेकेदार कम्पनी मार्फत काम शुरु गरेको थियो ।गोरखापत्र 

तपाईको प्रतिक्रिया