जगदुल्ला जलविद्युत आयोजना सडक बनाउने सहमति

सुर्खेत / डोल्पाको १ सय ७ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनास्थलमा सडक निर्माणमा देखिएको समस्या समाधान गर्ने सहमति भएको छ। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

छलफलमा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग‚ पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा कार्चेन‚ जगदुल्ला जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारी, परियोजना प्रबन्धक सञ्जय सापकोटालगायत अधिकारीहरूबीच छलफलले सडक निर्माणमा देखिएको गाँठो फुकेको हो ।

सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन नभएको भनि समस्या आएपछि उक्त काम गर्न हप्ता दिनभित्र टुंगो लगाउने सहमति भएको मन्त्री सिंहले बताउनुभयो ।

उद्योग‚ पर्यटन‚ वन तथा वातावरणले सडक खन्दा हुने समस्याको सहजीकरण गर्न सहमति भएको मन्त्री छिरीङ डम्डुल लामाले बताए। भौतिक पूर्वाधार तथा शहरी विकास कार्यालय डोल्पाबाट सडक निर्माणका लागि ठेक्का लागेको छ ।

त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माण गर्न आयोजनाले नै ठेक्का लगाएको छ । आफ्नो मन्त्रालयअन्तर्गत हुने सम्पूर्ण काम छिटोभन्दा छिटो गर्ने मन्त्री रोकायले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया