सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर स्थित औद्योगिक ग्राममा प्रथम साना लघु, घरेलु तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरूको कर्णाली प्रादेशिक महोत्सव सुरु भएको छ ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामाले हिजो महोत्सवको उद्घाटन गर्दै कर्णालीको समृद्धिका लागि साना लघु घरेलु उद्योगहरूको भूमिका महत्त्वपूर्ण रहेकाले प्रदेश सरकार उद्यमीसँग हातेमालो गरेर अघि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले उद्योग स्थापना, परिचालनका लागि कर्णालीका २ सय २० जना साना लघु, घरेलु उद्यमीलाई १० देखि २० लाख रुपैयाँसम्म निःशुल्क ब्याज ऋण उपलब्ध गराउने कार्यक्रम प्रदेश सरकारले ल्याएको जानकारी दिनुभयो ।
उहाँले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको सदृढिकरण गर्न चाहने एक सय जना उद्यमीका लागि १० देखि २५ लाख रुपैयाँ अनुदानको कार्यक्रम रहेको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले स्वदेशी वस्तुको उत्पादन वृद्धि नगरी स्वदेशी वस्तु निर्यात घटाउन नसकिने भएकाले तीनै तहका सरकारले देशका सबैमा पालिकामा एउटा औद्योगिक ग्राम निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसीले बजारीकरणको अभावमा कर्णालीका २७ हजार लघु, घरेलु उद्योगको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहेकाले राज्यले ती उद्योगको संरक्षणका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
मेलामा कर्णाली प्रदेशका दश वटै जिल्लाका महिला उद्यमीहरूले उत्पादन गरेका कृषि, लघु घरेलु वस्तु तथा साम्रागीहरुको प्रदर्शनी गरिएको छ । रेडियो नेपाल



दर्शन खबर । १४ असार २०७९, मंगलवार