कुलेन्द्र शाही सुर्खेत / सुर्खेतको भेरिगंगा नगरपालीका सुर्खेतले आर्थिक वर्ष २०७९/८० का लागी ६७ करोड भन्दा बढिको बजेट ल्याएको छ । नगरपालिकाको ११ औँ नगरसभामा नगर उपप्रमुख धनसरा बोहोराले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ६७ करोड ०५ लाख ८१ हजार ७ सय ७९ रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको हो ।
राजस्व बाँडफाँड तर्पm १३ करोड २१ लाख ३९ हजार १ सय ३९, आन्तरिक तर्फ २ करोड ९९ लाख ५५ हजार ६ सय ४०, बित्तिय समानिकरण तर्फ १५ करोड ९५ लाख ८७ हजार, सर्शत अनुदान तर्फ ३२ करोड २९ लाख बजेट प्राप्त भएको छ । त्यस्तै समपुरक अनुदान तर्फ १ करोड ३० लाख र विशेष अनुदान तर्फ १ करोड ३० लाख ल्याएको छ ।

आज शुक्रबार नगर सभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा भेरिगंगा नगरपालीकाको वडा नम्वर १ र २ लाई केरा खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, त्यस्तै वडा नम्वर १,२,३,४,५,६ र ७ लाई बाख्रा पालनको विशेष पकेट क्षेत्रको रुपमा विकास गर्ने वडा नम्वर ४,८,९,१०,११,१२ र १३ लाई दुधको पकेट क्षेत्रको रुपमा विकास गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरि साविकको रामघाटमा भैँसीको लागि श्रोत केन्द्रको सम्भाव्यता अध्ययन गरिने, साविकको मैनतडामा उन्नत र पाख्रीबास बंगुर तथा भैँसीको श्रोत केन्द्र स्थापना गरिने,एक वडा एक पशु स्वास्थ्य प्राविधिकको क्रमश विस्तार गरिने निती तथा कार्यक्रममा उल्ल्ेख गरिएको छ ।
त्यसैगरि सहकारीहरुको कार्य हेरी उत्कृष्ट हुने सहकारी संस्थालाई प्रोत्साहन तथा सम्मानको व्यवस्था गरिने,अटो रिक्साको भाडादरमा एकरुपता ल्याउनमा पहल गरिने, महिलाका लागि अटोरिक्सा तालिम, युवाहरुका लागि पलम्बर तालिम, बाँस तथा निगालाका सामाग्री निर्माण तालिम, हाउस वायरिंग, सिलाई कटाई, दुना टपरी, कम्प्युटर सीप विकास लगायतका तालिमहरु सञ्चालन गरिने, नगरमा कृषि विमा कार्यक्रम सञ्चालन गरिने,कक्षा १ देखि ५ सम्म स्थिानीय पाठ्यक्रम लागु गरिने, निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
भेरीगंगा नगरपालिका को छिन्चुमा अत्याधुनिक कबर्ड हल निर्माण गरिने, मैनतडाको नगरस्तरीय रंगशालालाई संघ र प्रदेश सरकारको सहयोगमा सम्पन्न गरिने, टिनको छाना मुक्त विद्यालय निर्माणमा जोड दिइने, पी.सी.आर तथा एन्टिजिनको दायरा समुदाय स्तरसम्म बढाउने, ६० वर्ष नाघेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक विदाई गरिने,महिला स्वास्थ्य स्वयंसेविकालाई चाडवाड खर्चको व्यस्थापन गरिने,एक घर, पाँच जडिबुटि,पाँच योग्य कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रमहरु नगरसभामा पेश गरिएको छ ।
यस्तै भेरीगंगा नगरपालिकाको एक नमुना जडिबुटि उद्यान बनाउन पहल गरिने, अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने,भेरीगंगा उज्यालो शहर कार्यक्रम लागू गरिने, हेल्पडेस्क,गुनासो सुनुवाई केन्द्र लाई प्रभावकारी रूपमा सञ्चालन गरिने, कोटमाझ खर्क को जग्गा तथा अन्य क्षेत्रको अधूरा जग्गाको छुट दर्ता प्रक्रिया अघि बढाइने र जग्गा धनी प्रमाणपत्र पुर्जा वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
खानेपानीका परम्परागत श्रोतहरुको संरक्षण गर्दै उक्त श्रोतमा आधारित खानेपानी आयोजनाहरु निर्माणका लागी तत्काल सम्भाव्यता अध्ययनको काम अगाडी बढाउने पनी निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । पत्रकारिता क्षेत्रको विकासका लागी नेपाल पत्रकार महासंघ सुर्खेत संग सहकार्य गरी पत्रकार अक्षयकोषको स्थापना गर्ने लगाएतका निति तथा कार्यक्रमहरु नगरसभामा पेश गरिएको छ ।


दर्शन खबर । १० असार २०७९, शुक्रबार