हुम्लामा आँखा शिविर सञ्चालन, ६३ जनाको आँखा शल्यक्रिया

सुर्खेत– हुम्लाको उत्तरी नाँम्खा गाउँपालिकाको केन्द्रमा सञ्चालन भएको आँखा शिविरमा ६३ जना आँखाका बिरामीहरूको मोतिबिन्दुको सफल रूपमा शल्यक्रिया गरिएको छ।

शिविरका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले ७५ जना छनौट गरेको भएपनि ती मध्य ६३ जनाको शल्यक्रिया गरिएको हो।

गाउँपालिकाका सूचना अधिकारी मोहनबहादुर शाहीले गाउँपालिका केन्द्र भएपनि दुर्गमको गाउँ याल्वाङमा पहिलो पटक सञ्चालन भएको आँखा शिविरबाट वर्षौँदेखि आँखाको रोगबाट ग्रसित बिरामीको उपचार सफल भएको बताए।

उनले शिविर सञ्चालन अवधिभर ६३ जना महिला पुरुषको मोतिबिन्दुको शल्यक्रिया भएको बताए। दुई दिन सञ्चालन भएको शिविरमा कुल २६० जना आँखाका बिरामीले चेकजाँच गरेका थिए।

उनीहरू मध्य आवश्यकताका आधारमा चश्मा पनि वितरण गरिएको थियो। यसका लागि तिलगङ्गा आँखा अस्पतालले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो भने गाउँपालिकाले सहजिकरण गरेको थियो।

शिविर सञ्चालन गर्न अस्पतालबाट चिकीत्सकसहित स्वास्थ्यकर्मी आएका थिए। यसअघि गाउँपालिकाले वडा नम्बर १ देखि ५ सम्मका शिविरका लागि छनौट भएका आँखाका बिरामीका लागि निःशुल्क यातायातको व्यवस्था गरेर सञ्चालन स्थानमा पुर्याएको थियो भने उपचार पछि गाउँसम्म पुर्याउने व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य संयोजक ग्याछो लामाले बताए।


तपाईको प्रतिक्रिया