कर्णाली प्रदेशका हिमाली जिल्लामा पुगेनन् अझै पाठ्यपुस्तक

वर्षेनी नयाँ शैक्षिक सत्र शुरु भएपछि वैशाख र जेठमा नयाँ पाठ्यपुस्तकको चर्चा हुन्छ। विभिन्न सञ्चारमाध्यममा नयाँ पुस्तक छाप्न ढिलो भएको समाचारले गतिलो स्थान पाउँछ। सरकारलाई छिटो सक्न दबाब दिइन्छ। तर न यो समस्या सरकारले अहिलेसम्म अन्त्य गर्न सकेको छ न नयाँ विकल्प नै निकाल्न सकेको छ।

यो समस्या वर्षेनी दोहोरिइरहन्छ। यस वर्षको शैक्षिक सत्र शुरु भएको २९ दिन भइसक्यो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ को शैक्षिक सत्र पठनपाठन यही जेठ १ गते नै थाल्ने निर्णय यसअघि गरिसकेको थियो। तर हालसम्म नयाँ पाठ्यपुस्तक छपाइ सकिएको छैन।

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार करिब १ करोड ९० लाख थान नयाँ पुस्तक छाप्नुपर्नेमा अझै १५ लाख थान छाप्न बाँकी छ। केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले बाँकी १५ लाख थान पुस्तक छाप्न अझै १५ दिन लाग्ने बताए।

उनका अनुसार दिनको १ लाख २५ हजारसम्म पुस्तक छाप्न सकिन्छ। कागज अभाव र स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइले पुस्तक छपाइमा ढिला भएको तर्क उनले गरे।

जनक शिक्षाले छापिसकेको पुस्तक सम्बन्धित ठाउँमा पुर्‍याएकाे दाबी गरिरहे पनि विकट जिल्लामा अझै पुग्न सकेको छैन। विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन। यसबाट पठनपाठन प्रभावित भएको छ।

हुम्ला जिल्लाको चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीले गाउँपालिकामा अझै नयाँ पुस्तक नआइपुगेको जानकारी दिइन्। उनले भनिन्, ‘नयाँ पुस्तक अझै हामीकहाँ आइपुगेको छैन, व्यवस्था गर्न पहल गरिरहेका छौँ, बुझ्दै छौँ।’

जुम्ला जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौँलागाईंले पनि अझै पुस्तक नआइपुगेको जानकारी दिए। ‘नयाँ पुस्तक आइपुगेको भन्ने जानकारी छैन, अब बुझेर व्यवस्था गर्नेतिर लाग्छौँ,’ उनले भने।

मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले पनि सबै ठाउँमा नयाँ पुस्तक नपुगेको जानकारी दिए। पठनपाठन प्रभावित भएको भन्दै व्यवस्थापन गर्ने उपाय खोजिरहेको उनको भनाइ छ।


तपाईको प्रतिक्रिया