सुर्खेत – जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा माओवादी केन्द्रकी सीता आचार्य घर्तीमगर निर्वाचित भएकी छन् । उनीसहित सबै पदाधिकारी माओवादी केन्द्रकै निर्वाचित भएका हुन् । समितिको उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका हुन् ।
आइतबार सम्पन्न निर्वाचनबाट सदस्यमा सुरज माइला, केवल घर्ती, मीना सुनार, जितकुमारी विक, निलम सुनार, शेरबहादुर पुन र शर्मिला पुन निर्वाचित भएका हुन् । प्रमुखमा निर्वाचित सीता लुम्बिनी प्रदेशसभाका सभामुख पूर्ण घर्तीकी पत्नी हुन् । समन्वय समितिको सदस्यमा सहिद परिवारका सदस्यलाई पनि ल्याइएको छ ।
रोल्पामा प्रमुख पदमा पहिलोपटक महिला निर्वाचित भएको हो । अघिल्लो पटक समन्वय समितिमा माओवादी केन्द्रकी पूर्वलडाकु कमान्डर राजबहादुर बुढा निर्वाचित भएका थिए ।
माओवादीद्वारा संचालित १० वर्षको सशस्त्र युद्धमा सीताले जनवादी कलाकारको भूमिका निर्वाह गरेकी थिइन्। उनले रुकुमको चुनवाङमा आयोजना गरिएको पार्टीको तत्कालीन बैठकमा प्रहसन गरिएको चर्चित गीति नाटकमा समेत गीत गाएकी थिइन् । सभामुख पूर्ण र उनको घर ठेगाना रुकुम पूर्वको चुनवाङ हो । रोल्पाको लिवाङ उनको माइतीघर हो ।
उपप्रमुख बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा कांग्रेसका टेकबहादुर बस्नेतले उम्मेदवारी दिएका थिए । मतदानमा एमालेका मतदाता तटस्थ रहेका थिए ।
स्थानीय निर्वाचनमा सत्तारूढ दल बीचमा गठबन्धन हुन सकेको थिएन । जिल्ला समन्वय समितिको निर्वाचनमा पनि ती दलबीच गठबन्धन भएन । हालै सम्पन्न भएको स्थानीय निर्वाचनमा रोल्पाका १० तहमध्ये माओवादी केन्द्रले ७ वटामा जितेको थियो । कांग्रेसले २ वटा र एमालेले १ तहमा जितेको थियो ।


दर्शन खबर । २९ जेष्ठ २०७९, आईतवार