श्रीलंका। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले एक साता भित्र मन्त्रिपरिषद् गठन हुने बताएका छन्।
श्रीलंकामा प्रदर्शन सुरु भएयता पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गोटाबायाले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन्। झडपमा ३०० भन्दा बढी घाइते भएका छन्। आर्थिक संकटले श्रीलंकामा इन्धन, खानेकुरा, औषधीजस्ता आधारभूत वस्तुको चरम अभाव छ। यसका कारण एक महिनाभन्दा अघिदेखि श्रीलंकाली नागरिक सरकारविरुद्ध सडकमा प्रदर्शन गरिरहेका छन्।
आर्थिकसँगै राजनीतिक संकट गहिरिएसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षे सोमबार राजीनामा दिइसकेका छन्। यसअघि केन्द्रीय बैंकले आगामी दुई दिनभित्र नयाँ सरकार गठन नभए मुलुकको अर्थतन्त्र धरासायी हुन सक्ने चेतावनी दिएको थियो।
आन्दोलनले उग्ररूप लिएपछि आजसम्म देशमा कर्फ्यू लगाइएको छ। लुटपाट तथा हिंसात्मक घटनामा संलग्नलाई अत्यधिक बल प्रयोग गर्न र गोली चलाउन सरकारले सुरक्षा निकायलाई अनुमति दिएको छ।


दर्शन खबर । २९ बैशाख २०७९, बिहीबार