सुर्खेत। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको टिकट पाएर मनोनयन दर्ता गर्नुभएका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ ।स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधि सँगै निजामती कर्मचारी र शिक्षकहरुले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ ।
तर, शिक्षक खत्रीले राजीनामा नदिएरै उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको पाइएको छ।नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड नगरपालिकाको उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएका शिक्षक तेजबहादुर खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।
नलगाड नगरपालिका २ घर भएका खत्री त्रिभुवन मा वि खलंगाका निमावी तहका स्थायी शिक्षक हुनुहुन्छ । खत्रीले राजीनमा पत्र बुझाए पनि उहाको श्रीमतीले सनाखत नगर्दा राजीनामा स्वीकृत नभएको पाइएको छ।
खत्रीले वैशाख १२ गते दिउँसो शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटमा राजीनामा पत्र ल्याएर आएको तर श्रीमतीको सनाखत नल्याएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरिएको भए पनि अहिलेसम्म सम्पर्कमा नआएको इकाइ कार्यालय जाजरकोट बताएको छ ।


दर्शन खबर । १४ बैशाख २०७९, बुधबार