रुकुम पश्चिममा ३७७ पदका लागि ११ सय ५ को उम्मेदवार

रुकुम पश्चिम। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिममा १ हजार १ सय ५ जनाको उम्मेदवारी परेको छ। ३ सय ७७ पदका लागिउक्त उम्मेदवारी परेको हो।

जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तह र ७३ वटा वडा छन्। जिल्लाका ६ प्रमुख तथा अध्यक्ष, ६ उपप्रमुख तथा उपाध्यक्ष साथै ७३ वडाध्यक्ष र २ सय ९२ जना वडा सदस्यका लागि १ हजार १ सय ५ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुन पदका लागि कति जनाको उम्मेदवारी पर्‍यो भन्नेबारे विवरण संकलन भइरहेको कार्यालयले जनाएको छ। त्यस्तै स्वतन्त्र उम्मेदवारी पनि परेको र यसबारे पनि यकिन संख्या आउन बाँकी रहेको बताइएको छ।

जिल्लामा हालसम्म दुई स्थानीय तहमा छुट्टा छुट्टै गठबन्धन बनेका छन् भने अन्य स्थानीय तहमा दलहरुले छुट्टा छुट्टै उम्मेदवारी दिएका छन्। मुसीकोट नगरपालिका नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका बीच गठबन्धन भएको छ भने सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका बीच गठबन्धन भएको छ।

रुकुम पश्चिमका अन्य स्थानीय तहमा समेत १६ गतेसम्म गठबन्धन बन्ने सम्भावना देखिएको छ। निर्वाचन कार्यतालिका अनुसार १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय छ।


तपाईको प्रतिक्रिया