दैलेखमा गठबन्धनको भागबण्डा अनुसार उम्मेदवार कायम गराउन कांग्रेसको निर्देशन


दैलेख । दैलेखका अधिकांश स्थानीय तहमा गठबन्धनबाट छुट्टाछुट्टै मनोनयन दर्ता भएको छ। नारायण नगरपालिकामा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गरिएको भागबण्डा अनुसार कांग्रेसबाट मेयरमा निर्मला खड्का र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लको मनोनयन दर्ता भएको छ।

अन्य स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुले छुट्टाछुट्टै मनोनयन गरेसँगै नेपाली कांग्रेसले सत्ता गठबन्धन दलहरुबीचको भागबण्डा अनुसार आफ्नो उम्मेदवारहरु कायम गर्न निर्देशन दिएको छ। नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समिति कांग्रेस जिल्ला कार्य समिति दैलेखलाई उक्त निर्देशन दिएको हो।

प्रदेश महामन्त्री कृष्णबहादुर रोकायद्धारा हस्ताक्षरित निर्देशनमा भनिएको छ ‘पाँच दलिय गठबन्धन कर्णाली प्रदेशस्तरिय संयन्त्रको बैठकको निर्णयानुसार पालिकाको सिट बाँडफाँड गरी गठबन्धनका साँझा उम्मेदवार बनाउने सहमती भएको जानकारी नै छ, सोही अनुसार कांग्रेसले प्राप्त गरेको पदमा मात्र उम्मेदवार कायम गराउन हुन निर्देशन गरिएको छ।’

भागबण्डा अनुसार नेपाली कांग्रेसले दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा उपप्रमुख, दुल्लु नगरपालिकामा प्रमुख, आठबीस नगरपालिकामा प्रमुख, नारायण नगरपालिकामा प्रमुख, भैरबी गाउँपालिकामा उपाध्यक्ष, भगवतीमाई गाउँपालिकामा उपाध्यक्ष, गुराँस गाउँपालिकामा अध्यक्ष, नौमूले गाउँपालिकामा अध्यक्ष, डुङ्गेश्वर गाउँपालिकामा अध्यक्ष, ठाँटीकाँध गाउँपालिकामा उपाध्यक्ष र महाबु गाउँपालिकामा पनि उपाध्यक्ष पद प्राप्त गरेको थियो।

कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले निर्देशन प्राप्त भएको र गठबन्धन दलहरुको बैठक बोलाएर टुंगोमा पुग्ने बताए। ‘हामी सहमतीका प्रयास गर्छौ, आजै गठबन्धन दलहरुको बैठक बोलाएको छु, छलफल गरेर आवश्यक निर्णयमा पुग्छौ,’ उनले भने।

तपाईको प्रतिक्रिया