जुम्ला । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहदुर बुढा र शारदा भण्डारीले जितेका छन् ४९ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ भण्डारी र पुरुषतर्फको उपाधि बुढाले हात पारेका हुन् ।
बुढाले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घन्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका छन् । उनले अहिलेसम्मका तीनवटै जुम्ला रारा म्याराथनका स्वर्ण चुमिसकेका छन् ।
पुरुषतर्फ दलबहादुर कुँवरले द्वितीय भएका छन् । कुँवरले पाँच घन्टा पाँच मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै उक्त स्थान हासिल गरेका हुन् । वेदबहादुर सुनारले पाँच घन्टा आठ मिनेट ४७ सेकेन्डमा दूरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए ।
उनले भने, चन्द्र रावल, सुमन कुलुङ, प्रकाश कठायत, सागर बुढा, जोवन ऐडी, मदन भण्डारी, धिरबहादुर खत्री टपटेनमा आउन सफल भएका छन् ।
महिलातर्फ शारदा भण्डारीले ६ घन्टा ३४ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी गणना भण्डारी ६ घन्टा ५९ मिनेट ४२ सेकेन्डका साथ द्वितीय र मञ्जु रावतले सात घन्टा ३४ मिनेट ३८ सेकेन्डमा पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार उमकली बुढा, राममाया बुढा, संगीता भण्डारी, शोभाकली बुढा, विन्दु श्रेष्ठ र राधा श्रेष्ठ टेनमा आउन सफल भएका छन् ।
जुम्ला(रारा अल्ट्रा म्याराथनमा ७६ जना खेलाडी सहभागी भएकोमा ७२ जना रारा तालसम्मै पुगेका छन् । विजेता खेलाडीलाई पुरस्कार वितरणसमेत गरिएको छ। यो वर्ष एक विदेशीसहित ७६ जना धावक सहभागी भएका थिए । ७६ मध्ये १५ जना महिला छन्।
जुम्ला रारा अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भु दाहाल, सुमन कुलुङ लगायतले सहभागिता जनाएको आयोजक कर्णाली स्पोर्टस् क्लबले जनाएको छ । कर्णाली स्पोर्टस् क्लबका अनुसार म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाएका छन् भने द्वितीयले ६२ हजार पाँच सय, तृतीयले ३७ हजार पाँच सय र सान्त्वना हुने सातजनाले ६५ सय रुपैयाँ पुरस्कार पाएका हुन् । जुम्लादेखि रारा तालसम्म पाँचवटा चेक प्वाइन्ट राखिएको थियो ।


दर्शन खबर । २७ चैत्र २०७८, आईतवार