यातायात व्यवसायीको छैटौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं – यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले छैटौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ।

२९ गतेसम्म काठमाडौँ र ललितपुरमा हुने सम्मेलनमा देशभरबाट १५ सय बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुनेछन्।

 सम्मेलनमा सबै प्रदेशका यातायात मन्त्रीहरु सहभागी हुने महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं रामशाहपथस्थित स्काई दरबार बैंक्वेटमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने बन्दसत्र र निर्वाचनको कार्यक्रम ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा हुनेछ। महासचिव सिटौलाले यो महाधिवेशनले अधिकार सम्पन्न यातायात प्राधिकरण स्थापनाको मागलाई बलियो साथ उठाउने बताए।

सरकारले विभिन्न यातायात समितिहरु खारेज गरि यातायात ब्यवसायलाई कम्पनी मोडलमा लगे पनि आवश्यक नियम–नियमावली र कार्यविधि नबनाउँदा काम गर्न अप्ठेरो भएको यातायात ब्यवसायीहरुले गुनासो गर्दै आएका छन्।

महासङ्घमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनीहरु आवद्ध छन्। यो महाधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ। महासंघको महाधिवेशनले तीन वर्षको कार्यकालको लागि नयाँ नेतृत्व सहित पदाधिकारीहरु चयन गर्ने छ। महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७४ माघमा चितवनमा सम्पन्न भएको थियो।

 


तपाईको प्रतिक्रिया