सुर्खेतका एक लाख बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने भएको छ । यहाँका नौं वटै स्थानीय तहमा रहेका अनुमानित एक लाख ३५ हजार बालकालिकाहरुलाई खोप लगाउन लागेको हो ।

राष्ट्रिय कार्यक्रम अन्तरगत नै सुर्खेतमा तीन चरणमा यो अभियानको शुरुवात गर्न लागिएको छ । पहिलो चरणमा यहीँ चैत २५ गते वीरेन्द्रनगर, दोस्रो चरणमा चैत २६ गते भेरीगंगा नगरपालिका, चैत २८ गते गुर्भाकोट नगरपालिका, चैत २९ गते बराहताल र चिंगाड गाउँपालिका तथा लेकवेसी नगरपालिकामा खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उनकाअनुसार आगामी बैशाख ३ गते चौकुने र सिम्ता गाउँपालिकामा खोप अभियान शुरु गरिनेछ ।

सिम्तामा सात हजार ८४१, चिंगाडमा पाँच हजार ९१५, लेकवेशीमा आठ हजार ३९७, गुर्भाकोटमा १२ हजार ९९७, भेरीगंगाका ११ हनार ८१९, वीरेन्द्रनगरका २२ हजार २३९, बराहतालका सात हजार ८३५, पञ्चपुरीका १० हजार ६२६ र चौकुनेका आठ हजार ७९८ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाइनेछ ।

जन्मेको १५ महिना पुगेका बालकालिकालाई पहिलो खोप लगाइने प्रमुख गौतमले बताए । सुर्खेतमा आर्थिक वर्ष २०७६/७७ मा तीन हजार ४२६, २०७७/७८ मा चार हजार ५२८ र चालु आर्थिक वर्षको हालसम्म दुई हजार ८३६ जनामा टाइफाइड रोगको संक्रमण देखिएको गौतमले जानकारी दिए ।

‘बालबालिका १५ वर्ष पुग्दासम्म टाइफाइड रोग विरुद्धको खोप अनिर्वाय लगाउनुपर्छ, प्रमुख गौतमले भने, ‘१५ वर्षमुनिका बालकालिकाहरुमा टाइफाइड रोगको ११ गुणा संक्रमण हुने उच्च जोखिम रहेकाले न्यूनिकरण गर्न खोप अभियानलाई तिव्रता दिँदैछौं ।’

पानी र खानेकुराबाट टाइफाइड रोगको संक्रमण हुनुमा तेस्रो स्थानमा रहेकाले नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिएको कार्यालयको तथ्याङ्क छ । टाइफाइडको संक्रमणका कारण अस्पतालमा भर्ना हुने विरामीहरुमध्य चौथो स्थानमा पर्छन् ।

अपाङ्गता र मृत्युदर घटाउने उदेश्यले खोप अभियानलाई प्रभावकारी बनाउन लागेको प्रमुख गौतम बताउँछन् । लक्षित समुदायमध्य सबैभन्दा बढी ८० प्रतिशत बालबालिकालाई विद्यालयमा पुगेर खोप लगाइने कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया