यातायात व्यवस्था कार्यालयको ढड्डा र छाप नै बिचौलियाको झोलामा


काठ्माडौ ।
यातायात व्यवस्था कार्यालय बागमतीको एकान्तकुना स्थित सानाठूला सवारीको दर्ता किताब नै बिचौलियाको झोलामा भेटिएको छ । आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले यातायात कार्यालयको दर्ता किताब र कार्यालयका छाप सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२३ घर भएका ३२ वर्षीय मनोज बाँस्तोला छन् ।
२०७८ कार्तिक २८ मा बास्तोलाले बा।१२ च ४४९९ नम्बरको हुण्डाई कम्पनीको ग्राण्ड आईटेन कार कुसुन्तीस्थित यातायात कार्यालय अगाडीको होटलमा बसेर शेर सिंह थापालाई पास गरिदिएका थिए । तर, गाडीको ब्लु बुक दिए पनि उनले ब्लु बुकमा उल्लेखित गाडी नदिएपछि उनले ललितपुर प्रहरीमा उजुरी गरेका हुन् ।
बाँस्तोलाको साथमा ‘यातायात व्यवस्था कार्यालय बागमती’ लेखिएको सवारी दर्ता रजिष्टर फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता ९एसपी० सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । उनले भने–‘रजिष्टरमा विभिन्न सवारी साधनहरू नामसारी दर्ता भएको ब्यहोरा उल्लेख गरेर छाप लागेको भेटिएको छ, हामी अनुसन्धान गर्दै छौँ ।’
बिचौलियालाई दर्ता किताब दिने यातायातका कर्मचारीबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आरोपी विरुद्ध ठगी मुद्दामा जिल्ला अदालत ललितपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ठगीसँगै उनलाई सरकारी छाप दस्तखत किर्तेमा पनि अनुसन्धान गरिने एसपी शाहले बताए । (रातोपाटी)

तपाईको प्रतिक्रिया