जंगलमा भेटियो चार दिनदेखि बेपत्ता वृद्धको शव

सल्यान । गत बुधबारदेखि हराइरहेका कपुरकोट गाउँपालिका–२ भकम गाउँका एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। ६४ वर्षीय मेवालाल नेपाली शनिबार दिउँसो सोही वडाको फुर्केमेल सामुदायिक वनमा मृत फेला परेका हुन्।

प्रहरी र स्थानीयको सक्रियतामा खोजी गर्दा हराइरहेका नेपाली घरदेखि करिब साढे २ किलोमिटर टाढा पर्ने फुर्केमेल सामुदायिक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाँस काट्न भन्दै घरबाट निस्केका नेपाली बुधबारदेखि हराइरहेको र खोजी गर्ने क्रममा शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकार अर्जुन पौडेलले जानकारी दिए।

मृत अवस्थामा भेटिएका नेपालीको शरीरका विभिन्न भागमा चोट लागेको फेला परेपछि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको पौडेलले बताए।


तपाईको प्रतिक्रिया