
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघमा लागेको ताला खुलाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको रोहबरमा दुईपक्षबीच छलफल भै शुक्रबार अपरान्ह ताला खुलाइएको हो ।
वर्तमान कार्यसमितिले विधानविपरित कामकारबाही भएकोप्रति असन्तुष्टि जनाउँदै माघ २८ गते संघको कार्यालयमा ताला लगाइएको थियो । विवाद समाधानका लागि पटक-पटक छलफल भएपनि सहमति जुट्न सकेको थिएन ।
शुक्रबार भएको छलफलबाट विवाद समाधनका लागि पाँच सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ । उक्त विवाद समितिमा संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारीको संयोजकत्वमा पूर्वअध्यक्षहरु निरक केसी, विष्णु बहादुर शाही, पदम बहादुर शाही र वर्तमान अध्यक्ष धनबहादुर रावत सदस्य रहेका छन् ।
यो समितिले तीन दिनभित्रमा प्रशासनमा कार्य विवरण बुझाउने समयावधि तोकिएको छ । सो अवधिभित्र विधानतः दुई वर्ष सदस्यता नविकरण नगरी खारेज भएको सम्बन्धमा निणर्य लिने, संघमा भएका सदस्यहरुको सदस्यता छानविन गर्ने, कार्यसमितिको बैठकले तोकेको निर्वाचन मिति संशोधन गरी मिति सार्वजनिक गर्नेछ भने समितिले निर्वाचन अधिकृतको संख्या निर्धारण गर्ने जिम्मेवारी दिइएको छ ।


दर्शन खबर । २१ फाल्गुन २०७८, शनिबार