
काठमाडौं । संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमण तत्काल रोक्न आह्वान गर्दै बोलाएको विशेष महासभामा नेपाल युक्रेनको पक्षमा उभिएको छ ।
बुधबार ११औँ विशेष महासभामा युक्रेनमाथि रुसले जारी राखेको कारबाही तत्काल रोक्ने प्रस्ताव बहुमतले पारित भएको छ । जसमा नेपालसहित १४१ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन ।
पालका तर्फबाट महासभामा बोल्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल जुनसुकै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पक्षमा रहेको बताए ।
उक्त महासभाको प्रस्तावमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र युक्रेनी क्षेत्रबाट रुसको सैन्य बल तत्काल पूर्णरुपमा बिना शर्त हटाउन माग गरिएको छ । सो प्रस्तावको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, एरिट्रिया र सिरियाले मात्र मतदान गरेका छन ।
बुधबारको मतदानमा चीन र भारतसहित ३५ देश अनुपस्थित भएका थिए । संयुक्त महासचिव एन्टिनियो गुटरेशले महासभाले शान्तिको आवाज बुलन्द गरेको भन्दै युक्रेनमा दुस्मनीको अन्त्य होस्, बन्दुक बन्द होस् र संवादका लागि कुटनीतिक दरबाजा खुला होस् भन्ने सन्देश दिएको बताए।
१९३ देश रहने संयुक्त राष्ट्र संघ महासभाले युक्रेनको सम्प्रभुता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतालाई पुष्टि गरेको छ । सन् १९५० पछि संयुक्त राष्ट्र संघमा यस्ता विशेष महासभा १० वटा मात्रै भएका छन्। यस्ता महासभालाई शान्तिका लागि एकताका रुपमा लिने गरिएको छ।
यो प्रस्ताव बहुमतले पारित भए पनि सुरक्षा परिषदका ५ स्थायी सदस्यको एक मत नभई कारबाहीमा भने बाध्यकारी हुँदैन । सुरक्षा परिषदका स्थायी सदस्य अमेरिका, बेलायत, रुस, फ्रान्स र चीनलाई भिटो प्रयोगको अधिकार छ ।


दर्शन खबर । १९ फाल्गुन २०७८, बिहीबार