बाँकेमा नरभक्षी बाघ नियन्त्रणमा

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको नरभक्षी बाघ नियन्त्रणमा आएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले बुधबार बिहान राप्तीसोनारी–६ स्थित राप्ती पीडित सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिएको कोषका प्राविधिक फिरुलाल थारुले जानकारी दिए।

पाडो राखेर बाघ नियन्त्रणको प्रयास गरिएकोमा बाघले मंगलबार राति नै पाडो खाएको थियो। बिहान ७ बजेतिर बाँकी रहेको पाडोको मासु खान आएको बेलामा पहिलो डार्कको प्रयास विफल भएको थियो।

बिहान ९:४५ बजेतिर दोस्रो पटकको प्रयासमा डार्क सफल भएको थियो। प्राविधिक थारुले नियन्त्रणमा लिइएको बाघ १५-१६ वर्षको भाले रहेको बताए। उनले भने, ‘अहिले बाँके राष्ट्रिय निकुञ्जको खैरी पोष्टमा बाघ लगेर राखिँदै छ। त्यसपछि बाघ कहाँ राखिने भन्नेबारे निर्णय हुनेछ।’

झन्डै २ हप्तादेखि कोषको टोलीले बाघ नियन्त्रणका लागि काम थालेको थियो। बाघ नियन्त्रण अभियानमा राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटनरी डा.चित्रबहादुर खड्का, प्राविधिक थारुसहितको २ वटा टोली खटेको थियो। बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहले पनि बाघ नियन्त्रणमा लिएकाले कहाँ राखिने भन्नेबारे टुंगो नभएको बताए। राप्तीपारी मात्र एक वर्षको अवधिमा बाघको आक्रमणबाट अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ।


तपाईको प्रतिक्रिया