राजपाको महाधिवेशनका लागि पार्टी नेतृत्वलाई दबाब

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दबाब दिन सुरु गरेका छन्।

तीन दिनयता काठमाडौंमा जारी पार्टीको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरूले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दबाब दिएका हुन्।

बैठकमा अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए।पार्टीको यही बैसाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

बैठकमा नेताहरूले अब भने महाधिवेशन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए।

त्यसैगरी समान विचार भएका पार्टीहरूसँग एकता गरेर पार्टीलाई शक्तिशाली बनाउने विषयमा पनि नेताहरूले जोड दिएको पनि महासचिव झाले बताए।

राष्ट्रिय जनता पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताका विषयमा छलफल भइरहेको छ।

बैठकले सरकारविरुद्धको आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने तयारी पनि गरेको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया