
जुम्ला । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार २७१ मतदाता थपिएका छन्। साउन ३ देखि माघ २४ सम्म मतदाता नामावली संकलन भएको थियो।
थपिएका मतदातामा ३ हजार ४० जना महिला र ३ हजार २ सय ३१ पुरुष रहेको कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए। नयाँ थपिएकासहित जुम्लामा ६९ हजार ३३५ मतदाता पुगेको छ। जसमा महिला ३३ हजार १३७ र पुरुष ३६ हजार १९८ जना रहेका छन्।
निर्वाचन अधिकारी शर्माका अनुसार माघ २४ भित्र मतदाता नामावलीमा दर्ता भई वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका सबै नागरिकले मतदान गर्न पाउने छन्।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार जुम्लामा हालसम्म करिब ७२ हजारजनाले नागरिकता लिएका छन्। तर‚ जाडो याममा मतदाता नामवली संकलन भएकाले केही मानिस जाडो छल्न जिल्लाबाहिर गएकाले करिब ३ हजार छुटेको हुनसक्ने उनले बताइन्।
‘नागरिकता लिएकामध्ये तीन हजार नागरिक मतदाता नामावलीबाट बञ्चित भएको देखाउँछ‚’ उनले भनिन्‚ ‘मतदाता नामावली संकलन हुँदा बखत केही मानिस जाडो छल्न जिल्लाबाहिर भएकाले छुटेको हुन सक्ने आँकलन छ।’
जुम्लामा आगामी निर्वाचनलाई लक्षित गरी तीनवटा मतदान केन्द्र थपिएका छन्। तीसहित जम्मा ७९ वटा मतदान केन्द्र रहेका छन्।


दर्शन खबर । ८ फाल्गुन २०७८, आईतवार