आज एक बिषेश दिन, मेरो जन्मदिन ! 

सीता आचार्य, सुर्खेत । फगुनको महिना । पुस माघको ठन्डी चिसो हट्दै थियो । प्रकृति हल्का न्यानो हुदै थीयो ।। झ्याउ किरीको झ्याउ-झ्याउ आवाज संगै सैतै फुलेका आरुबखडा र अरुका रुखहरुले ति सुदर फुल लीएर मलाई स्वागत गर्न आतुर थीए । अनि मीर्रमीरे उज्यालो । भारी भएको मेरो बुवाको मन  । कठीन मेरी आमाको प्रसव पिडा । परिवारको खुसी ।  आज म जन्मिएको दिन । मेरो आमाबुवाको आँखा खुसीका आँसुले भरिएको दिन । मेरा बाबा आमा पहिलो पल्ट बाबा आमा बनेको दिन । आज मेरो जन्म दिन ।

मेरो हजुरबुवाको पुरानो अनि सानो घर थीयो, खरले छाएको । जहाँ मेरा बाबाले आमालाई बिहे गरेर ल्याएर राखेका थिए । मेरा बाबा आमाको बिहे भएको एक बर्ष पछि जन्मीएकी म,   आमाको पेटमा आएको सात महिनामै त्यो मेरो सानो अनी प्यारो घरको जाते कुनामा  जन्मीएकी हुँ रे, झट्ट हेर्दा मकैको खोईला जत्रै सानी थीए रे, मेरी आमाको साथमा भएकी मेरा बाबाकी हजुरआमा अनी मेरी मेरी बुढि  हजुरआमाले पहिलो पल्ट मलाई हेर्दै मेरी आमालाई भन्नु भएको थियो रे ‘ कठै बरै के बाँच्ला र यस्तो मुसाको चल्लो भन्दा नि सानो । पापको मर्नु । भीत्र न ले, जा, सीस्नोको झाडिमा फालेर आईजा ’ उनि पहिलो पल्ट आमा बनेकी थीईन्, आमाको मन हो कसरी सहि होलीन् त्यो पललाई । मेरी बुढि हजुर आमा आज यो दुनियाँमा हुनुहुन्न । यदि भईदिएको भए कति खुसी हुनुहुन्थ्यो होला म ठुली भएको देखेर । यदि कहि कतै बाट मलाई देख्नु भएको छ भने पक्कै खुसी हुनुहुन्छ होला ।

यस्तो लाग्छ संसारको सबभन्दा ठुलो अनी अमुल्य सब्द नै आमा हो । मैले मेरी आमालाई सानै देखी मायाँ अनि सम्मान नगरेको होईन । तर जब म पनि मेरी छोरी की आमा भए नि तब मेरी आमा प्रतिको मेरो दृष्किोण, मायाँ अनी सम्मान कयौँ गुण बढेर आयो । मेरी छोरीले जस्तै मैले नि उनलाई सताउथे होला । मेरी छोरी रुदाँ संगसंगै म पनि रोए जस्तै  उनि पनि कैयौँ पल्ट म संगै रोईन् होला । मेरो कारण कति दिन भोकै बसीन् होला कति रात अनीदो बिताईन् होला । मेरी आममा तिमी साँच्चीकै माहान छौ ।

आफुले नखाएर मलाई खुवाउने मेरी आमा । आफुले नलगाएर मलाई कपडा लगाई दिने मेरो बुवा । अनी हरेक क्षणमा म मुस्कुराएको खुसी भएको देख्न चाहाने मेरो परिवार । आमा बाबा ! म बाल्यकाल अनि जवान हुदै मेरी छोरी की आमा हुदाँ समेत हजुरहरुलाई सम्बोधन गर्ने कुनै शब्द भेटेको छैन् । र भेटु पनि कसरी !

बाबा आमा हजुरहरुले भन्नु हन्थ्यो नी ‘राम्रो बनेस्, ज्ञानी बनेस्, धेरै पढेस्, ठूलो मान्छे बनेस्, झगडा नगरेस्, आफु भन्दा अग्रजले भनेको कुरा मानेस्, आमाबुवाको र परिवारको ईज्जतको ख्याल गरेस् ।’

म अहिले पनि हजुरहरुले सिकाएको बाटोमा छु म सधै हजुरहरुले सीकाएको बाटोमा हिड्ने छु । अहँ, मैले बाटो बिराएको छैन्, तर माफ गर्नुहोस् आमाबुवा म गन्तब्यमा पुग्न सकेको छैन्, जिन्दगी अझै लामो छ । जिन्दगी त भर्खर सुरु भएको छ । जिन्दगीमा ठेस नलाग्ने कहाँ हुन्छ र र? मन नदुख्ने कस्को हुन्छ र ?

बिगतमा मेरा लागी हजुरहरले भोगेका दुखका दिनहरु, ‘तेरा त छोरी छोरी छन् । छोरा पाउदिनस्, तिन बैनि छोरी जन्मीदा, कति छेरी पाउन सकेको अब खोर बनाएर हुल ’ जस्ता ति आफन्तका तुच्छ बचन ब्यबहारहरु झल्झली सम्झन्छु । भगवानको जय होस, तिन बैनि छोरी पछि मेरा बाबा आमाको छोरा जन्मीयो अनि हाम्रो भाई । अनि बल्ल ति आफन्त र समाजको मुख थुनियो । तर  पनि बिगतलाई बिर्सिने कोशिस गर्दै छु । विगत बिर्सिन गाह्रो हुदोँ रहिछ । तर बिगतले सिकाएको पाठ अहिलेको मार्ग बन्दै गएको छ ।

म अहिले आमा बाबा देखीको भौतिक दुरीले त टाढा छु । कर्णाली प्रदेशको सदरमुकाममा छु । पत्रकारिता गर्छु । उमेर नेटो काट्यो जस्तो लाग्छ । म ठूली भैसके जस्तो लाग्छ । तर बाबा आमाको नजरमा त म सानी नै छु । आमा भन्नुहुन्छ ‘काम गर्दा होसियार बन्नु है । आफ्नो ख्याल गर्नु ।

मलाई मेरो घरपरिवारको साथ छ । माईतिको साथ छ । आफन्तको साथ छ । सहयोग छ । माया छ । ममता छ । स्नेह छ । अत्यन्तै मायाँ गर्ने श्रीमान पाएको छु । उहाँको साथ र सर्पोट छ ।अनी मात्रै म यहाँ सम्म आएको छु । यदी हजुरहरुको साथ र सहयोग हुदैन् थियो भने अहिले साँझ बिहान खान पनि पाउदैन थिए होला । राम्रो लगाउन पाउदैन थिए होला ।  विरेन्द्रनगरमा बसेर पत्रकारिता गर्न पाउदैन थिए होला । समाजमा अहिले जुन ईज्ज्त छ, त्यो पाउदैन थिए होला । यो सबै हजुरहरुको प्रेरणा र सहयोगले हो । मलाई आसा छ । म जिन्दगी भर हजुरहरुको माया र प्रेरणा पाइरहन्छु ।

यदाकता बिभीन्न भाव संगै सामाजिक सञ्जालमा फोटाहरु छरपष्ट पार्ने सन्तान पनि थुप्रै छन् आमा । एक छाक खान नदिएर भोकभोकै पार्ने अनी बुढेसकालमा बृद्धाश्रम लिएर छोडिदिने सन्तान पनि धेरै छन् आमा । अनी आमाको उच्च सम्मान गर्दै बुढेसकालको सहारा बनेका सन्तानको पनि कमी छैन आमा । म हजुरको बुढेसकालको लौरी भनेर सहारा दिने छु ।  शरिरमा एक मुठी सास र एक चिम्टी रगत रहुन्जेल सम्म म मेरो भलो चाहाने आफन्तहरुलाई दुखी बनाउने छैन । बाचा भयो मेरी आमा !

जुन तुच्छ बचन लगाउने अगाडि आफन्त जस्तो नाटक गरीदिने र पछाडि बाट भाला रोप्ने ति मेरा आफन्त भनौदाहरुकै मुख बाट सन्तान भनेको फलानाको जस्तो बन्नुपर्छ भन्ने  बन्ने छु, असल बन्ने छु, प्यारी बन्ने छु, साहासी र निडर बन्ने छु । ढुक्क हुनु  म  आफ्नो स्वाभिमान र  इज्जत भन्दा  बाहिर  कहिल्यै जाने छैन । एक दिन  हजुरहरुको सपना  अवश्य पूरा  गर्ने  छु  ।

आखीर जिन्दगी एउटा नाटक नैत रहेछ । जीन्दगीको परिभाषा नै ‘नाटक’ रहेछ । हँसाउने र रुवाउने दुवै पात्र नाटकमा हुन्छन् । अन्त्यमा सन्देश छोडेर सकिन्छ नाटक । अनि जिन्दगी पनि । नाटकको मञ्जन गर्दै मलाई यहाँ सम्म ल्याउने सबैमा नमन् । हजुरहरुको बर्षौबर्ष स्नेह पाउ, मायाँ पाँउ साथ र सर्पोट पाउँ । आज मेरो लागी एक बिषेश दिन मेरो जन्म दिन !


तपाईको प्रतिक्रिया