फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने


काठमान्डाै । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्।

कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन्।

‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ’, पत्रकार सम्मेलनमा उनले भनेका छन्,‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ।’

सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताए। त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए।

यस्तै, विगतमा जोखिमा रहेका गर्भवती महिलालाई मात्र खोप दिने नीति लिएकोमा अहिले सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने उनले बताए।

यसैगरी, उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई समेत खोप प्रदान गर्न खोप उपब्धताको लागि पत्रचार भइसकेको र सुनिश्चितता भइसकेको उनले बताए।


तपाईको प्रतिक्रिया