‘जनतामा आशा र भरोसा बढेको छ, प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछिको ६ महिनामा जनतामा आशा र भरोसा बढेको दाबी गरेका छन् । तर, यसैमा सन्तोष गर्ने सुविधा भने सरकारलाई नभएको उनले बताए ।
शुक्रवार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि त्रास र भयको अन्त्य भएको दाबी गरेका हुन् ।
‘संविधान र संवैधानिक प्रणालीको रक्षा भएको छ । त्रास र भयको अन्त्य भएको छ । सरकार सही दिशामा अगाडि बढेको छ,’ देउवाले भने, ‘जनतामा आशा र भरोसा बढेको छ, हामीलाई यसैमा सन्तोष गर्ने सुविधा छैन ।’
देउवाले ६ महिनामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भएको पनि दाबी गरे । उनले ६ महिनामा आर्थिक क्रियाकलाप वृद्धि भएको बताए ।
आधा घण्टा लामो सम्बोधनका क्रममा देउवाले सरकार गठन भएपछिका उपलब्धिको व्याख्या गरे । सरकार एक वर्षभित्र तीनवटै तहको चुनाव गराउन तयार रहेको भन्दै त्यसको लागि तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया