सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अन्तराष्ट्रिय मापदण्डको भलिवल कवर्डहल निर्माण हुने भएको छ । हालै बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिवल प्रतियोगीताको उपाधि जितेर आएको महिला राष्ट्रिय भलिवल टोलीले नेपालमा कवर्ड हल नहुँदा प्रतियोगीताको तयारीमा समस्या भएको बताएका थिए ।
‘नेपालमै अहिलेसम्म भलिवल खेलका लागि अन्तराष्ट्रिय मापदण्डको कवर्डहल नभएको जानकारीमा आएपछि कर्णाली प्रदेश सरकारले बन्दै गरेको प्रदेश गौरवको रंगशालामा कवर्डहल निर्माण गर्ने निर्णय गरेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो ।
त्यसका लागि अहिलेको बन्दै गरेको रंगशालाको संरचनालाई परिमार्जन गर्न प्रदेश खेलकुद परिषद्लाई निर्देशन दिएका मुख्यमन्त्री शाहीको भनाई रहेको छ । भलिवल कवर्डहल निर्माणका लागि भेरिएसन तथा खरिद प्रक्रियाको काम पनि अगाडि बढाउन मुख्यमन्त्री शाहीले परिषद्लाई निर्देशन दिनुभएको छ ।
परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको भलिवल कभर्डहल नभएकाले कर्णालीमा पहिलो पटक बनाउन लागिएको जानकारी दिनुभयो । एक हजार ५०० दर्शक क्षमता भएको कभर्डहल र बाहिर दुई वटा भलिवल कोर्ट निर्माणका लागि डिजाइन स्टिमेट गरिने उहाँले बताउनुभयो ।
परिषद्को आइतबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको बैठकले कालिन्चोक मैदानलाई बैकल्पिक खेल मैदानका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।


दर्शन खबर । १९ पुष २०७८, सोमबार