
सुर्खेत । नेकपा एमाले सुर्खेत जिल्लाको अधिवेशनका लागी आज प्रतिनिधि छनोट गरिँदैछ ।
यही पुस २३ र २४ गते हुने आठौं जिल्ला अधिवेशनका लागि आज सुर्खेतका ९९ वटै वडामा प्रतिनिधि छनोट गर्न लागिएको हो । प्रचार-प्रसार संयोजक गंगाराम तिमिल्सेनाले आज एकै पटक वडाहरुबाट प्रतिनिधि छनोट गरिने बताए ।
सुर्खेतका ९९ वटा वडाबाट करिब छ सय जिल्ला अधिवेशन प्रतिनिधि छनोट हुने छन् । प्रतिनिधि छनोट गर्दा अन्य जाती तथा जनजाति क्षेत्रबाट ३० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि र दलित क्षेत्रबाट २० जना पार्टी सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने छ ।
यसरी छनोट गर्दा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्ने छ । एमाले सुर्खेतमा १२ हजार दुई सय ८० जना पार्टी सदस्य रहेका छन् ।


दर्शन खबर । १७ पुष २०७८, शनिबार