काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आज सम्पन्न हुँदैछ । माओवादीको नयाँ नेतृत्व चयनसहित शनिबार (आज) सम्पन्न गर्ने तयारी भएको हो ।
शनिबार ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।
त्यसपछि विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको हो ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भएको थियो । तर विधान मस्यौदा भने पारित हुन बाँकी छ । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।
माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन् । त्यसकारण अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्का भएको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना देखिन्छ भने महासचिवमा भने विभिन्न नेताहरूले दावी रहेका छ । दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ ।
निर्वाचन आयोगका अनुसार विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्नेछ । विधान पारित भएपछि निर्वाचनको प्रक्रिया हुने आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । माओवादीको महाधिवेशन पुस ११ देखि राजधानीमा सुरु भएको थियो ।


दर्शन खबर । १७ पुष २०७८, शनिबार