नेपाली कलाकारको पीडा – पारिश्रमिक पाउन ‘महाभारत’

काठमाडौँ । आफूले काम गरेको पारिश्रमिक लिन धेरै क्षेत्रका मान्छेले आफ्ना मालिकसँग रातो मुख गर्नु परेको खबर सार्वजनिक भइरहन्छन् ।
पारिश्रमिक नपाएका खबर सबैभन्दा धेरै सार्वजनिक हुने क्षेत्रभित्र मनोरञ्जन उद्योग पनि पर्छ ।
यो उद्योगमा काम गरेका कलाकार बेला बेला आफ्नो पारिश्रमिकका लागि आक्रोश पोखिरहेका हुन्छन् । धेरैले मनोरञ्जन उद्योग व्यवसायिक हुन नसकेको आरोप लगाउँदै आएका छन् ।
पछिल्लो समय मात्रै अभिनेत्री परमिता आरएल राणाले आफूले पारिश्रमिक नपाएको दुखेसो पोखिन् ।
आफूले काम गरेको पैसा पनि भीख मागे जसरी माग्नु परेपछि आक्रोशित उनले निर्माता निर्देशकलाई धम्की समेत दिन भ्याइन् ।
पारिश्रमिक नपाएपछि सामाजिक सञ्जालमा पोखिने पहिलो कलाकार परमिता भने होइनन्। उनी अघि पनि थुप्रै कलाकारले पारिश्रमिकका लागि लगानीकर्तासँग मनमुटाव गर्नु परेको छ ।
परमिताले आफूले काम गरेको पारिश्रमिक लिन निक्कै संघर्ष गर्नु परेपछि नयाँ आउने कलाकारलाई पनि मानसिक रुपमा तयार भएर मात्रै यो क्षेत्रमा आउन आग्रह गरिन् ।
अर्का कलाकार अमिर गौतमले फिल्ममा काम गरेको पैसा नपाएर सामाजिक सञ्जालमा पोखिएके धेरै भएको छैन। उनले चलचित्र ‘चपली हाइट’ ३ वटै सिरिजमा अभिनय गरेका छन् । सोही फिल्ममा काम गरेको पैसा नपाएको उनले दुखेसो पोखेका हुन् ।
अमिरले पानीमा भिजेर काम गरेको पैसा समेत नदिएको भन्दै आक्रोश पोखेका थिए । उनको यो स्टाटसमा उनीसँगै काम गरेका दुई अभिनेत्री स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले घुमाउरो भाषामा आफूले पनि पारिश्रमिक नपाएको उल्लेख गरेका थिए ।

पुराना कलाकार निर्मल शर्माले बिना पारिश्रमिक कुनै पनि काममा जोडिन मन नलागेको बताएका थिए। सायद उनलाई पनि पारिश्रमिक उठाउन गाह्रो भएको हुनुपर्छ ।
मोडल दुर्गेश थापाले पनि पहिलो पटक अभिनय गरेको म्यूजिक भिडिओको पारिश्रमिक माया मार्नु परेको दुखद् अनुभव साटेका थिए । उता चलचित्र ‘रोज’मा काम गरेको पुरा पारिश्रमिक नपाएपछि अभिनेता पुष्प खड्काले लामै लडाईं गर्नु पर्यो ।
चलचित्र ‘रोज’बाटै मिरुना मगर र परमिताले समेत पुरै पारिश्रमिक नपाएको चर्चा चलेको थियो। हास्य कलाकार राजाराम पौडेलले ‘क्याप्टेन’ चलचित्रमा काम गरेको पारिश्रमिक पाएनन् । उनले सार्वजनिक रुपमा मुख नखोले पनि बजारमा चर्चा भने चलेकै थियो ।
यी त बाहिर आएका केही उदाहरण मात्रै हुन् । काम गरेपछि पारिश्रमिक नपाउने गरेको अधिकांश कलाकारको गुनासो सुनिन्छ । चलचित्रको डबिङ सकिएपछि पारिश्रमिक उठाउन झन् गाह्रो पर्ने कलाकारहरुको अनुभव छ । नेपालखबरबाट


तपाईको प्रतिक्रिया