झमेलामा एमसीसी, आज संघीय संसदको अधिवेशन हुँदै


काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते अर्थात आजका लागि संसद अधिवेशन आह्वान गरेकी थिइन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आजे दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गरेकी हुन् ।
सत्तारुढ र प्रतिपक्षी दलहरु सकारात्मक देखिन थालेसँगै आज सुरु हुने संघीय संसदको अधिवेसनमा एमसीसी सम्झौता टेबल गरिने हो कि भनेर चर्चा सुरु भएको छ । गत १७ गते दुवै संसदको अधिवेशन आव्हान भएकै दिन अमेरिकामा एमसीसीको पदाधिकारीहरुको बैठक बसेको थियो । त्यही कारण पनि अहिले नेपालमा यो सम्झौताको पक्ष र विपक्षमा विभिन्न धारणाहरु सार्वजनिक हुन थालेका छन् । तर, अहिलेसम्म एमसीसी टेबल गर्ने कि नगर्ने भन्ने कुनै निणर्य भने भएको छैन ।
एमसीसीको बिषयलाई लिएर लामो समयदेखि नेपालका राजनितिक दलबाट अनेक प्रकारका टिप्पणीहरु आईरहेका छन् । कतिपय दलले यसलाई पारीत गर्नुपर्ने बताउँदै आएका छन् भने कतिपयले संशोधन बीना यथास्थितीमा पारीत गर्न नहुने धारणा राख्दै आएका छन् । अहिले प्रमुख प्रतिपक्षी नेकपा एमाले एमसीसी सम्झौताप्रति लचिलो बनेको छ । तर, सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा भने दुईटा धार देखिएको छ ।
एमसीसी कै कारण गठबन्धनमा फुट आउने त होइन भन्ने प्रश्न पनि उब्जिएको छ । गठबन्धनमा आबद्द दलका नेताहरु भने सहमति मै एमसीसी पारीत हुने दाबी गर्छन् । तर संसदको मंगलबार कै बैठकमा एमसीसी सम्झौता पेश हुने सम्भावना निकै कम छ । सरकारले समेत अहिलेसम्म यो सम्झौता संसदमा पेश गर्ने कि नगर्ने भन्ने कुनै निणर्य गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया