डेकेन्द्र हत्याको १७ वर्षपछि ३ जनालाई जन्मकैद

दैलेख । तत्कालीन द्वन्द्वकालमा सशस्त्र माओवादीद्वारा मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका ‘अरुण’ भनिने बमबहादुर खड्कासहित ३ जनालाई १७ वर्षपछि जन्मकैदको फैसला भएको छ।

जिल्ला अदालत दैलेखका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार उक्त फैसला गरेको हो।

‘अरुण’ भनिने बमबहादुर, मुक्ति भन्ने र केशव खड्कालाई जनही २० वर्ष जन्मकैदको फैसला भएको जिल्ला अदालत दैलेखका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए।

सशस्त्र युद्धकालमा माओवादीद्वारा दैलेख बजारको खानेपानीको लाइन काटिएपछि वार्ताका माध्यमबाट समस्या समाधान गर्न गएका पत्रकार थापालाई ०६१ असार १२ गते अपहरण गरी ०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले कुटपिट गरी हत्या गरेका थिए।

अपहरणको ४५ दिनपछि माओवादीद्वारा मारिएका पत्रकार थापाको ४ वर्षपछि कङ्कालको फेला परेको थियो।

माओवादीद्वारा हत्या गरिएका पत्रकार थापाकी पत्नी लक्ष्मी थापाले ०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

पत्रकार थापाकी पत्नी लक्ष्मीले दिएको किटानी जाहेरीका आधारमा यसअघि पक्राउ परेका ५ जनाले कैद भुक्तान गरीसकेका छन् भने अदालतले जन्मकैदको फैसला सुनाएकामध्ये २ जना गरी ३ जना अझै फरार छन्।

जन्मकैदको फैसला भएका ३ जनामध्ये ‘अरुण’ भनिने बमबहादुर कारागारमा छन्। मुक्ति भनिने र केशव अझै फरार छन्।

मुल्तबीबाट जगाइएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आरोपित भक्तिराम लामिछानेलाई ३ वर्ष कैदको फैसला सुनाइएको छ। उनी पनि फरार छन्।

यस्तै, जिल्ला अदालत दैलेखले डेकेन्द्र हत्याका मुख्य आरोपीमध्येका ३ जनालाई जन्मकैदको फैसला भएको भन्दै दैलेखका पत्रकारहरूले न्याय नमरेको प्रतिक्रिया दिएका छन्।


तपाईको प्रतिक्रिया